नेपालको सिपले पोर्चुगलमा स्वरोजगार

RSS
0
Shares

काठमाडौं । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका नेपालीले विश्वव्यापी महामारीको समय सही तवरले सदुपयोग गरेका छन् । कोरोनाको कारण उद्योग, व्यवसायको उत्पादनमा गिरावट आएपछि बेरोजगार भएका नेपालीले घरमै बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् ।

हुन पनि सन् २०२० को शुरुवातसँगै विश्व कोभिडबाट त्रसित भयो । विश्वका लाखौँ नागरिक संक्रमित भए । मृत्यु हुनेको सङ्ख्या बढ्दै गएकाले प्रायः सबै देशले आपत्काल घोषणा गरे । रोजगारीका लागि विश्वभर छरिएका नेपाली जस्तै यहाँका बस्दै आएका नेपाली बेरोजगार भए । बसाइँ अनुमतिपत्र बनाउन सजिलो हुने भएकाले पछिल्लो समयमा पोर्चुगलमा आप्रवासी बढेसँगै नेपाली समुदायको पनि सङ्ख्या बढ्दै गएको छ । यसरी बेरोजगार भएका केही नेपालीले सरकारबाट पाइने सुविधा बेरोजगारी भत्ता ९फुण्दो० पाएर दैनिक खर्च टारेका छन् त केही नयाँ बसाइँ अनुमतिपत्र नबनिसकेका नेपालीलाई सरकारी सुविधा, रोजगार, बेरोजगारी भत्ता नभएकाले बस्न, खान निकै समस्या छ ।

शुरूवातका केही समय नेपालबाट पैसा मगाउँदै दैनिकी खर्च टार्दै गरे पनि लामो समसयसम्म कोरोनाको महामारी नरोकिएपछि थप समस्यामा परेका नेपाली युवायुवतीले घरमा बसी आम्दानी हुने बाटो खोजी गर्न थालेका छन् । समयको मागअनुसार आफ्नो सीपको सदुपयोग गर्दै आम्दानीको स्रोत खोज्नतिर नेपाली केन्द्रित भएका छन् । बाक्लो सङ्ख्या रहेका नेपाली समुदायलाई आवश्यकता पर्ने मःमः, समोसा, सेलरोटी, पनिरलगायत खाद्यान्न तयार गरी बिक्री वितरण गर्ने अभियानको शुरुवात गर्दै नेपालीले पनि मनग्ये आम्दानी गर्न थालेका छन् ।

पर्बत घर भइ विगत एक वर्ष पहिला पोर्चुगल आएका घनश्याम भुुसाललाई तयारी मःम बनाउन भ्याइनभ्याई छ । दैनिक १०० प्लेटभन्दा बढी मःमको माग आउँछ । शुरु–शुरुमा १०-१२ प्लेट माग आउने गर्थ्यो । शुरुमा एक्लै बनाउँदै आएको तर अहिले बजारमा माग बढी आउन थालेपछि श्रीमती र आफू मःम बनाउँनै व्यस्त छन् । अझ आफूले बनाएको मःम नेपालीले मात्रै नभएर विदेशीले पनि लैजाने गरेको बताउछन् ।

उनी मात्रै होइन, सुनिता सापकोटा पनि सेलरोटी, समोसा बनाउन व्यस्त छिन् । उनी नेपालबाट काम गर्ने अनुमति लिएर पोल्याण्ड आइन्, तर बसाइँ अनुमतिपत्र बनाउन सहज हुने हुटहुटीले पोर्चुगल छिरीन् । उनी पोर्चुगल आएपछि कोरोना शुरु भयो । अनि उनले जानेको सीप सेलरोटी बनाउने भएकाले बजारमा सेलरोटीको माग छ कि छैन भनेर बजारको अध्ययन गर्न थालिन् । उनलाई हौसला प्रदान गर्दै काम गर्न अनुरोध गरेपछि अहिले बाहिर काम खोज्नु पर्ने अवस्था छैन ।

बनेपाका कृष्ण तिमिल्सिना घरमा दूधबाट पनिर बनाउन निकै ब्यस्त छन् । उनी पनि कोभिड प्रभावले घरमा पनिर तयार गर्ने अभियानमा लागे । दश वर्षे जनयुद्धमा होमिएका तिमिल्सिना शरीरमा गोलीको छिर्का लिएर उज्ज्वल भविष्य बनाउन युरोपेली मुलुक पोर्चुगलमा छन् । रोजगारीको खोजीमा विदेशिएका तिमिल्सिनालाई कोभिडले झनै समस्या थप्यो । जीविकोपार्जन गर्न कठिनाइ भएपछि अहिले उनीले पनिर बनाउँदै आएका छन् । दैनिक आठ घण्टा काम गर्दा मासिक ६६५ युरो पारिश्रमिक यहाँको सरकारले तोकेको भए पनि आफैँ घरमा पनिर बनाउँदा मासिक १००० युरोसम्म कमाइ भएको छ । “मेरो दुःख देख्नेहरुले पनिर किनिदिएर सहयोग गर्नुहुन्छ । म उहाँहरुप्रति निकै आभारी छु”, उनले भने ।

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरुजस्तै विभिन्न किसिमका काम गर्दै घरमै बसीबसी आयआर्जन गर्नेहरुको सङ्ख्या बढ्दो छ । इन्टरनेटको माध्यमद्वारा बसाइँ अनुमतिपत्र बनाउन आवश्यक पर्ने कागपत्र बनाउन वा प्रमाणीकरण गर्ने कामलाई सहजीकरण गर्दै आयआर्जन गर्नेहरुको सङ्ख्या पनि थुप्रै छ । घरघरमा पुगी सेवाग्राहीको चाहनाअनुसारको सौन्दर्य सम्बन्धित सेवा प्रदान गरिरहेका नेपाली दिदीबहिनी पनि उल्लेख मात्रामा भेटिन्छन् ।

कोरोना महामारीको प्रकोप अझै पनि दिनानुदिन बढिरहेकाले पोर्चुगलमा बसोवास गरिरहेका नेपालीमाझमा रोजगारीको सम्भावना खोजीमा लाग्ने नेपालीको सङ्ख्या दिनानुदिन बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?