सबैभन्दा अनुशासित हाम्रो पार्टी हो : प्रधानमन्त्री ओली

RSS
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टी झन् एकताबद्ध भएर अगाडि बढेको बताएका छन् । नेपाल ट्रेड युनिययन महासंघ(जिफन्ट)को राष्ट्रिय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले पार्टी शुद्धीकरणको अभियान अगाडि बढेको र पार्टीभित्र विकृति, अराजकता र स्वार्थी प्रवृत्तिको किनारा लागेको बताए ।

“ पार्टी शुद्धीकरणको अभियान चलेको छ, कोही पनि निराश हुनु पर्दैन”, उनले भने, “ आज पार्टीमा जुन एकता देखिएको छ, त्यो कति वर्षदेखि थिएन, आज हाम्रो पार्टी सबैभन्दा बढी एकताबद्ध पार्टी भएको छ । सबैभन्दा अनुशासित पार्टी हाम्रो पार्टी हो ।”

उनले नेकपा एक विचार, एक मन, एक उद्देश्य, एक धारणाका साथ समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न एकजुट भएर लागेको बताए । अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुुनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न कम्युनिष्ट पार्टी मजबुत हुनुपर्ने बताए । “सही विचार बोकेको र एकताबद्ध कम्युनिष्ट पार्टीले मात्र आन्दोलनलाई गति साथ हाँक्न सक्छ”, उनले भने, “हामीलाई अनुशासित र गतिशील पार्टी चाहिएको छ, आज हाम्रो पार्टी त्यस्तै बनेको छ, आज हामी विचारमा कुनै अलमलमा छैनौँ ।” सरकार सुखी नेपाली समृद्ध नेपालीको नारा बोकेर अघि बढेको र त्यसबाट किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे ।

आफूले बारम्बार योग्यता र क्षमता भएका व्यक्तिलाई कामको जिम्मेवारी दिन खोज्दा भाग खोजेर हैरान पारेको गुनासो उनले गरे । सरकारले गरेको जनपक्षीय कामलाई गुमराहमा राखेर केही सञ्चारमाध्यममले सरकारको कामको खोइरो मात्र खनेको आरोप लगाउँदै उनले वामपन्थी सरकार ढाल्ने अभियानमा पार्टीभित्रैका केही व्यक्ति लागेको बताए ।

नेपालको परिवर्तनमा मजदूर आन्दोलनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सम्पूर्ण श्रमिकलाई एकताबद्ध बनाएर लैजान आग्रह गरे । मजुदूर आन्दोलनलाई विभाजित गर्ने प्रयास भइरहेका तर्फ सचेत हुन आग्रह गर्दै उनले विभाजित व्यक्तिलाई पनि एकताबद्ध बनाएर लैजान सुझाव दिए । “बाटो विराएका मजदूर साथीलाई यस बाटोमा समाहित गर्नुपर्छ”, उनले भने, “नेपालमा एकताबद्ध मजदूर आन्दोलन निर्माण गरिनुपर्छ ।” करार र दैनिक ज्यालादारीमा रहेका ३० हजार सरकारी कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले अब नेपालमा कोही पनि भोकै नमर्ने र नपर्ने जिकिर गरे । बेसहाराको अभिभावकत्व सरकारले लिने बताउँदै उनले बालबालिका तथा ज्येष्ठ नागरिकको प्रबन्ध पनि सरकारले गर्ने बताए ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले मजदूरका पक्षमा विभिन्न कदम चालेको बताए । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा जिफन्टका पूर्वअध्यक्ष विष्णुप्रसाद रिमालले पार्टीकै शीर्ष नेताले जहिले पनि सरकारका कामको विरोध गर्दै आएको आरोप लगाए । “उहाँहरुले कहिल्यै सरकारको कामलाई जनतासमक्ष लैजाने काम गर्नुभएन, प्रतिपक्षीभन्दा पनि चर्कोरुपमा सरकारको आलोचना गर्नुभयो”, उनले भने । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले मुलुकमा फेरि पनि श्रमिकपक्षीय सरकार निर्माण गर्न आगामी वैशाखमा हुने निर्वाचनमा सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?