२८ गतेको प्रदर्शनलाई अहिलेसम्मकै ठूलो बनाउने तयारीमा प्रचण्ड-नेपाल पक्ष, कार्यकर्तालाई यस्तो निर्देशन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले संसद विघटनविरुद्धको प्रदर्शनलाई हालसम्मकै विशाल बनाउने बताएको छ ।

बिहीवार (आज) पार्टी कार्यालय पेरिसडाँडाँमा बसेको केन्द्रीय संघर्ष समितिको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको सशक्त रुपमा पतिवाद गर्न कार्यकर्ता पंक्तिमा निर्देशन दिएको छ ।

संसद विघटनविरुद्ध प्रचण्ड-नेपाल पक्षको आन्दोलनले देशभर जागरण पैदा गरेको समिक्षा भएको उक्त पक्षका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले संविधान भत्काएर चाल्ने कुनै पनि कदमको त्यहि रुपमा प्रतिवाद गर्नका लागि तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिएको नेता रिजालले बताए । त्यस्तै बैठकले आगामी माघ २८ गते संसद विघटनविरुद्ध काठमाडौंमा हुने प्रर्दशनलाई विशाल बनाउनेबारे कार्ययोजना भएको समेत बताएका छन् ।

“अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिनुभयो । बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ ।” उनले भने ।

संसद विघटनविरुद्ध प्रचण्ड नेपाल समूहले निरन्तर आन्दोलन गर्दै आइरहेको छ । यसैक्रममा उक्त समूहले तेस्रो चरणको आन्दोलनाको घोषणा गरेको छ । जसअनुसार आगामी माघ २८ गते काठमाडौंमा विशाल जनसभा गर्ने भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?