फेरियो हुलाकीको जिम्मेवारी

RSS
0
Shares

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गका यमबहादुर राना गाउँमा अधिकांश चिठ्ठीपत्र लेख्ने र गाउँमा आएको चिठ्ठीपत्र वाचनका लागि बोलाउने गरेको सम्झना गर्छन् । उनी पछिल्लो १०-१२ वर्षदेखि चिठ्ठीपत्र लेखनकार्य हराएको बताउछन् ।

उनी मोबाइल र इन्टरनेटका कारण चिठ्ठीपत्र लेखन हराउनु नै व्यक्तिमा रहेका सिर्जनशीलता हराउनु ठान्छन् ।

जिल्ला हुलाक कार्यालयमा हाल ८५ को दरबन्दी रहेको छ । बयालीस स्थायी कर्मचारी छन् । करारमा १५ कार्यरत रहेका छन् । जिल्लाका अतिरिक्त हुलाक कार्यालयमा १५१ कर्मचारीबाट सेवा प्रदानका लागि रहे पनि हुलाक सेवाप्रति नागरिकको आकर्षण ओरालो लागेको छ । सूचना प्रविधिको विकाससँगै हुलाकको सेवामा पनि फेरिएको छ । हुलाकबाट विगतमा चिठ्ठीपत्र ओसारपसार गर्ने सेवा अहिले आएर हराएको छ ।

कार्यालयले आर्थिक वर्ष २०७७-७८ को पुस महिनासम्म साधारणपत्र ९५२ आदानप्रदान गरेको जनाएको छ । जिल्लामा हुलाक कार्यालय एक, इलाका हुलाक कार्यालय १३ र अतिरिक्त हुलाक कार्यालय ५२ रहेका छन् ।

गत पुस महिनासम्म ११ हजार ५१५ रजिष्ट्रिपत्र, ९५२ साधारणपत्र, ७६७९ पत्रपत्रिका, द्रुतपत्र ३९, पैदेशिक पार्सल पाँच रजिष्ट्रि पुलिन्दा छ, बुक पोष्ट पोष्टकार्ड २९३ र बीमापत्र पाँचवटा सेवा प्रदान गरेको कार्यालयका सूचना अधिकारी टङ्क भण्डारीले जानकारी दिए । कोरोनाका कारण झण्डै आधाभन्दा बढी पत्रपत्रिका हुलाक कार्यालयमा नै कमी आएको सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

हुलाकबाट अहिले जिल्लास्तरमा सञ्चालित एफएम रेडियोको इजाजतपत्र तथा लाइसेन्स नवीकरण, रोयल्टी सङ्कलनका कामसमेत हुलाकबाट हुँदै आएको छ । हुलाक कार्यालयबाट एफएम तथा पत्रकारको कामका लागि जिल्ला बाहिर धाउनुपर्ने झन्झट अन्त्य भएकोे छ । पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्र, अनलाइन नवीकरणका लागि निवेदन सङ्कलन हुन्छ । कार्यालयका प्रमुख देवबहादुर थापा सारुका अनुसार कार्यालयले डाँक सेवाबाट सम्पादित कार्यबाहेकका सहुलियतदरमा पत्रपत्रिका दर्ता र नवीकरण, हुलाक वस्तुको आयात र निर्यात, नयाँ पोष्टबक्स नम्बरको नवीकरण र विस्तार, टिकट बिक्री हुँदै आएको छ ।

चालु आ.व २०७७-७८ को गत पुस महिनासम्म झण्डै ११ लाख ९० हजार ७४ राजश्व संकलन गरेको छ । सूचना अधिकारी भण्डारीका अनुसार हुलाक टिकट बिक्रीबाट छ लाख ९० हजार ९००, पोष्टबक्स दुई हजार ६३५, पत्रपत्रिका नवीकरण तथा दर्ता शुल्कबाट दुई हजार ७६५, काउन्टर अनलाइन दर्ताबाट ८७ हजार ६८७ संकलन भएको छ ।

जिल्लाको तीनवटा केवुल नेटवर्कको नवीकरणबाट तीन हजार ७५०, केवुल रोयल्टीबाट तीन लाख २५ हजार १९०, एफएम रोयल्टीबाट ७५ हजार ७९७, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीकरणबाट एक हजार ३५० राजश्व संकलन भएको जनाइएको छ ।

बचत बैकमा ८१ लाख

बचत बैंक सेवा कार्यक्रममा झण्डै ८१ लाख पूँजी रहेको छ । सर्वसाधारणबाट ६७ प्रतिशत ब्याजदरमा रकम बचत गर्ने व्यवस्था गरे पनि हालसम्म सरकारी कर्मचारीलाई मात्र लगानी गरिएको छ । आठ प्रतिशत ब्याजदरमा सरकारी कर्मचारीले ऋण पाउने व्यवस्था गरिए पनि हालसम्म सर्वसाधारण नागरिक यो सेवाबाट बञ्चित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?