कोरोना महामारीका बाबजुद सामसुङको सञ्चालन नाफा दुई अंकले बढ्यो

RSS
0
Shares

काठमाडौं । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ । सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीका बाबजुद कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख छ ।

सन् २०२० मा कम्पनीको सञ्चालन नाफा ३२ अर्ब ३० करोड डलर भएको र यो अघिल्लो वर्षको तुलनामा २९.६ प्रतिशतले बढी हो । कम्पनीको इतिहासमै यो चौथो सर्वाधिक बढी नाफा हो ।

यस्तै, सन् २०२० मा कम्पनीको कूल राजश्वमा २.८ ले वृद्धि भई दुई खर्ब १२ अर्ब डलर पुगेको छ ।

कोभिड–१९ का कारण अनलाइन कक्षाहरु र घरबाटै काम गर्नुपर्ने नियमका कारण पनि विद्युतीय सामानको खरिद व्यापक रुपमा बढेपछि नाफा पनि बढेको कम्पनीले जनाएको छ । यस्तो खरिद खासगरी सन् २०२० को पछिल्ला ६ महिनामा व्यापक रुपमा वृद्धि भएको थियो ।

कोरोना महामारीका कारण सन् २०२० को पहिलो छ महिनामा विश्व अर्थतन्त्रमा शिथिलता आएका कारण विद्युतीय उपकरण खरिदमा पनि मन्दीको अवस्था थियो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?