आज प्रचण्ड-नेपाल पक्षले बुटवलमा विरोध सभा गर्दै

रूपन्देही । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल पक्षले आज बुटवलमा विरोध सभा गर्दैछ ।

नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको विरोध सभालाई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाललगायतका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

सभा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा दिउँसो १ बजे शुरु हुने कमिटीले जनाएको छ । सभा शुरु हुनुअघि बुटवलको उत्तरतर्फ गोलपार्क, पश्चिमतर्फ जितगढी, दक्षिण-पूर्वतर्फ राजमार्ग चौराहाबाट जुलुस निस्कने छ । सभामा करिब २० हजार कार्यकर्ताको सहभागीता रहने आयोजकको दावी छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उक्त कदमविरुद्ध दाहाल-नेपाल समूहले निरन्तर विरोधसभा र प्रदर्शन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?