नक्कली बीजक प्रयोग गरी एक अर्बको राजस्व छली

RSS
0
Shares

काठमाडौँ– झुट्टा तथा नक्कली बीजक प्रयोग गरी फार्म सञ्चालकले रु एक अर्ब बढी बिगो बराबरको राजस्व छली गरेको पाइएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार सर्लाहीको गोडैता नगरपालिका–८ बस्ने मुख्य अभियुक्त सरोजकुमार मिश्रसहित १० जना र तिनका मतियार सातको समेत मिलेमतोमा यसरी राजस्व छली गरिएको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीले लामो समयको अनुसन्धानपछि रु एक अर्ब चार करोड बराबरको राजस्व छली गरेको पाइएकाले बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबी लिई उच्च अदालत पाटनमा मुद्दा चलाइएको जानकारी दिए ।

मिश्रलगायतको टोलीले १० वटा फार्म दर्ता गरी त्यही फार्ममार्फत बैंक खाता सञ्चालन गरेर झुटा तथा नक्कली बीजक प्रयोग गरी कारोवार गरेको मैनालीले जानकारी दिए । उनीमाथि सामान खरिद नै नगरी नक्कली बीजक खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको आरोप लगाइएको छ ।

अभियुक्तले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी गरेकाले सोही ऐनको दफा २३ अनुसार कैद सजाय माग गरिएको छ । मतियारविरुद्ध भने मुख्य अभियुक्तको आधा सजायको माग दाबीसहित मुद्दा दर्ता भएको विभागले आज एक सूचना जारी गरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?