२०७७, १४ माघ बुधबार १८:२७

आर्थिक एजेण्डामा टुटेर होइन,जुटेर लाग्छौँ : निजी क्षेत्र


प्रकाशित मिति : २०७७, १४ माघ बुधबार १८:२७

काठमाडौँ – निजी क्षेत्रका छाता संगठनहरुले अधिकांश आर्थिक एजेण्डाहरुमा जुटेर कार्यगत एकता गर्न सकिने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज ९सेजन०ले आयोजना गरेको ‘आर्थिक मुद्धामा निजी क्षेत्रको एकता र आगामी कदम’ विषयम अन्तक्रिया कार्यक्रममा उद्योग वाणिज्य महासंघ,उद्योग परिसंघ र नेपाल चेम्बर्स अफ कमर्सले यस्तो बताएका हुन् ।

सो कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रका सबै संगठनले अर्थतन्त्रका ९० प्रतिशत भन्दा बढी विषयमा कार्यगत एकता गर्न सकिने बताएका छन् ।

विगतका दिनहरुमा पनि निजी क्षेत्रका तीनै संगठनहरु मिलेर जाँदा निजी क्षेत्रले राखेको उद्येश्य पूर्ति भएको भन्दै अध्यक्ष गोल्छाले एकताको विकल्पै नभएको बताए । ‘विगतमा हामीले बजेट,मौद्रिक नीति,संविधानका विषयमा होस्,या अन्य विषयमा एकताबद्ध भएर जाँदा उद्येश्य पूर्ति भएको छ ।’ उनले भने ।

निजी क्षेत्रले जहिले पनि व्यापार घाटा कम गर्दै उच्च आर्थिक वृद्धिका साथ मुलुकको आर्थिक समृद्धि चाहेको अध्यक्ष गोल्छाको भनाई थियो । त्यस्तै, जुन मुलुकमा निजी क्षेत्रलाई विश्वास गरिन्छ । त्यस मुलुकको आर्थिक विकास द्रुत गतिमा भएको भन्दै सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने उनले बताए । त्यस्तै,उनले निजी क्षेत्रलाई विभाजन गर्न खोजिएको भन्दै आर्थिक एजेण्डामा निजी क्षेत्र टुटेर होइन,जुटेर जाने बताए ।

त्यस्तै,सो कार्यक्रममा उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले आर्थिक विकासका लागि निजी क्षेत्र मिलेर जाने बताए । साथै निजी क्षेत्र मिलेर जाँदा यस क्षेत्रको आवाज बलियो हुनुका साथै मागहरु पनि पूरा हुने भएकाले जुटेर जानुको विकल्प नभएको उनको भनाई थियो ।

त्यस्तै,नेपाल चेम्बर्स अझ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रका सबै संगठनको आवाज एउटै हुँदा उद्येश्य प्राप्तीमा सहयोग पुग्ने बताए । उनले सरकारले लिने कर लगायतका विषयमा व्यवसायीहरुले धेरै दुःख पाइरहेको भन्दै यस्ता विषयमा एकता हुनु जरुरी भएको बताए ।

त्यस्तै,अर्थविद् डा. पोषराज पाण्डेले निजी क्षेत्रले अर्थतन्त्रका विषयमा साझा एजेण्डा लिएर अगाडि बढ्न निजी क्षेत्रलाई सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस