प्रदेश नं २ खोप अभियान : कानून मन्त्री यादवले लगाए पहिलो खोप

RSS
0
Shares

धनुषा । कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान आज (बुधवार)देखि प्रदेश नं २ मा पनि शुरु भएको छ । प्रदेशका आठ वटै जिल्लाबाट एकैसाथ यो अभियान प्रारम्भ भएको हो ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा शुरु भएको अभियानअन्तर्गत प्रदेश नं २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाएका छन् । मन्त्री यादव कोरोना पोजेटिभसमेत भएका थिए ।

खोप लगाएपछि मन्त्री यादवले कोरोना विरुद्धको खोप लगाउन सबैलाई आग्रह गरे। “खोपको साइड इफेक्ट छैन । भए पनि अत्यन्त न्यून छ । त्यही भएर डराउनुपर्ने र हच्किनुपर्ने अवस्था छैन”, उनले भने, “स्वास्थ्यकर्मीको सल्लाह अनुसार सबैजनाले खोप लगाउनुहोस्, कोरोना संक्रमण अन्त्य नभएको र यसको अर्को विकल्प पनि नभएकाले खोप नै विश्वसनीय उपाय हो ।”

प्रदेश नं २ कोरोना संक्रमणबाट सबैभन्दा बढी जोखिममा रहेको स्मरण गर्दै मन्त्री यादवले त्यस बेला यो प्रदेशका मानिसलाई हेरेर अन्य प्रदेशका मानिस तर्सिरहेको र संवेदनहीन वक्तव्य पनि दिने गरेको बताए । आफ्नो ज्यान जोखिममा राखेर कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सक्रिय रुपमा लाग्ने स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलगायत सबैलाई उनले धन्यवाद दिए । एउटा योद्धाले युद्ध मैदानमा काम गरेजस्तै काम गर्दा कोरोना भाइरस संक्रमणलाई रोक्न सफल भएको उनको भनाइ छ । हामीजस्तो विकासशील देशमा एक वर्षभित्रै खोप आउनु ठूलो उपलब्धी रहेको भन्दै उनले दुःखको बेला सहयोग गर्ने छिमेकी मुलुक भारतलाई प्रदेश सरकारको तर्फबाट धन्यवाद समेत दिए ।

कोभिड–१९ विरुद्धको खोप अभियान बुधवारदेखि धनुषाको जनकपुरधाम, पर्साको वीरगञ्ज र सप्तरीको राजविराजबाट एकैसाथ शुरु भएको हो । जनकपुरधाममा प्रादेशिक अस्पताल, वीरगञ्जमा नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालबाट अभियान शुरु भएको हो । वीरगञ्जमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र राजविराजमा समाजिक विकास मन्त्री नवलकिशोर साहले सो अभियानको शुभारम्भ गरेका थिए ।

मन्त्री यादवपछि प्रदेशिक अस्पतालका नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेसु डा. प्रमोद यादवले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् भने बाँकी चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, शववाहन चालकले खोप लिन शुरु गरेका छन् ।
पहिलो चरणमा प्रादेशिक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी र शववाहन चालकसहित २२५ जनालाई खोप दिइने छ । त्यसपछि जिल्लाका अन्य स्वास्थ्य संस्था, निजी अस्पतालका स्वास्थ्यकर्मीलाई खोप दिइने अस्पलतालका मेसु डा. प्रमोद यादवले जानकारी दिए ।

पहिलो चरणका लागि प्रदेश नं २ मा ३४ हजार ८०४ डोज कोरोना भ्याक्सिन आएकोमा हालसम्म ३१ हजारभन्दा बढीको नाम संकलन गरिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए । पहिलो चरणमा भ्याक्सिन लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरूको नाम दर्ता गरिएको छ । तीमध्ये सरकारी अस्पतालका ११ हजार ७ सय ३७ र निजी अस्पतालका ११ हजार ३ सय ३४ जनाको नाम दर्ता गरिएको छ । त्यस्तै ७ हजार २७ महिला स्वयंसेवीका र एक हजार २०४ सरसफाईकर्मीको नाम दर्ता गरिएको निमित्त निर्देशक झाले बताए ।

पहिलो चरणमा प्रदेश सरकारले सबैभन्दा बढी धनुषामा ९ हजार १ सय ८२, पर्सामा ४ हजार ९ सय ७१, सर्लाहीमा ४ हजार ७ सय ७२, सिरहामा ३ हजार ९ सय ३०, सप्तरीमा ३ हजार ७ सय ५४, रौतहटमा ३ हजार ६ सय ९, महोत्तरीमा २ हजार १ सय ९१ र बारामा २ हजार ३ सय ९५ डोज खोप लगाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?