कुशुमको ह्याट्रिकमा विराटनरको शानदार जित

लोकपथ
0
Shares

काठमाडौं । कुशुम खतिवडाको ह्याट्रिकको मद्दतमा विराटनर महानगरपालिका मोरङले राजधानीमा जारी राष्ट्रिय महिला लिगमा सुखद नतिजा निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा आज बुधवार सम्पन्न खेलमा विराटनरले चन्द्रपुरमाथि ५–० को फराकिलो जित निकाल्दा कुशुमले ह्याट्रिक पूरा गर्दा जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । कुशुमको अलावा अनु राई र सरिता शेर्पाले एक÷एक गोल गरे । कुशुमको ह्याट्रिक सँगै जारी प्रतियोगितामा पाँचौ ह्याट्रिक भएको छ । एपिएफकी सावित्रा भण्डारीले दुई ह्याट्रिक गर्दा आर्मीकी विमला चौधरी र चन्द्रपुरकी सविता राना मगरले एक÷एक ह्याट्रिक गरेका छन् ।

पहिलो हाफमा दुई गोल गरेको विराटनगरले दोस्रो हाफमा तीन गोल गरेको थियो । यस अघि सम्पन्न दुई खेलबाट विराटनगरले एक खेलमा बराबरी र एक खेल गुमाउन पुगेको थियो । पहिलो खेलमा विराटनगर वालिङसँग १–१ गोलको बराबरी र एपीएफसँग ७–० ले पराजित भएको थियो । तेस्रो खेलमा सुखद नतिजा निकालेको विराटनगरको अंक तालिकामा ४ अंक भएको छ ।

उदयपुरको चौदण्डीगढीलाई अघिल्लो खेलमा ७–१ गोल अन्तरले पराजित गरेको चन्द्रपुरले एपिएफसँग ६–० ले पराजित भएको थियो । बुधवारको पराजयसँगै चन्द्रपुरको ३ खेलबाट ३ अंक नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?