बझाङ हत्याकाण्ड : नेविसंघ र तरुण दलको धनगढीमा प्रदर्शन

टेक सिँह धामी । धनगढी । बझाङको छबिसपाथिभेरा गाउँपालिकामा भएको युवक हत्याकाण्डमा संलग्नलाई कारबाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ ।

छबिसपाथिभेरा ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारबाही गरिनुपर्ने भन्दै नेपाल बिधार्थी संघ र तरुण दल बझाङले ‘यसपालीको हैजा, केपी ओली लैजा’ भन्दै प्रदर्शन गरेका हुन् । नेकपाका नेता तथा कार्यकर्ताले सुनियोजित त योजनाबद्ध तरिकाले हत्या गरेको प्रदर्शनकारीहरुको भनाइ रहेको छ ।

हत्या प्रकरणमा वडाध्यक्षसहित थप ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी र सोही ठाउँका केदार ऐडी रहेको बझाङका प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
सिंहको हत्या गरेको आरोपमा छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायत भने मंगलबार नै पक्राउ परिसकेका छन् ।

हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकलको प्रयोग

उनको हत्यामा वडाध्यक्षको सरकारी मोटरसाइकल समेत प्रयोग गरेको भेटिएपछि अनुसन्धानका लागि निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सरकारी मोटरसाइकलमा आएका नेकपा कार्यकर्ताहरूले खुँडा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले कांग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजीत भएका थिए ।

धामीले १ सय ४९ र बोहराले १ सय ७७ मत प्राप्त गरेको बुझिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक खडकाले बताए ।
उनका अनुसार हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन् । यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?