ओली र प्रचण्ड पक्षका नेताहरुपनि आफुहरुसँग मिसिन आउने वामदेवको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।

बुधवार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनको निम्ति नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन् । नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षमा राजनीतिक रुपमा विभाजित भएपनि गौतम तटस्थ रहदै आएका थिए । आफु एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिदैँ आएका गौतमले बुधवारदेखि औपचारिक रुपमै एकता अभियान घोषणा गरेका हुन् ।

उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे । शिर्ष नेताहरु विभाजित भएपनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरु एकता भंग भएकोमा चिन्तित रहेको भन्दै उनले आफुले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरुलाई अघि बढाउने बताए । ६ महिनाभित्र पार्टी एकता गराईसक्ने उपाध्यक्ष गौतमले दाबी गरे । ६ महिना अघि नै एकता हुनसक्ने पनि उनको भनाई छ ।

उपाध्यक्ष गौतमले प्रचण्ड–नेपाल र ओली पक्षधरलाई आफ्नो पक्षमा ल्याउने बताए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरेपनि आफुहरुले उक्त फैसलालाई शिरोधार्य गर्ने उनको भनाई छ । वैशाखमा चुनाव भए राम्रो उम्मेदवार छानेर भोट हाल्ने भन्दै संसद पुर्नस्थापना भयो भने पार्टी एकीकरण गराउन समय समेत प्राप्त हुने उनले बताए । प्रतिनिधि सभा पुर्नस्थापना भए पार्टी एकता जोगाउन सकिने भएकोले आफ्नो भित्रि धारणा प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा रहेको बताए ।

उपाध्यक्ष गौतमले नेकपालाई विभाजन गर्न अध्यक्षद्धय ओली र प्रचण्डको बराबरी भूमिका रहेको बताए । पार्टी एकताको महत्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मंसिर ४ गते अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमती अनुसार आलोपालो प्रधानमन्त्री प्रचण्डले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताए ।

उपाध्यक्ष गौतमले अर्को पार्टी बनाउँछन् भन्ने सन्देश गएको भन्दै आफुहरुले अर्को पार्टी नबनाएको स्पष्ट पारे । सर्वोच्चमा परेको मुद्दा फैसला हुने बित्तिकै ओली र प्रचण्ड पक्षका नेताहरुपनि आफुहरुसँग मिसिन आउने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?