‘नेकपा फुटे हार निश्चित, ६ महिनाभित्र पार्टी एकता’-  वामदेव गौतम (भिडियोसहित)

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्।

बुधवार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनको निम्ति नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन्। नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षमा राजनीतिक रुपमा विभाजित भएपनि गौतम तटस्थ रहदै आएका थिए । आफु एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिदैँ आएका गौतमले बुधवारदेखि औपचारिक रुपमै एकता अभियान घोषणा गरेका हुन् ।

उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शीर्ष नेताहरु विभाजित भएपनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरु एकता भंग भएकोमा चिन्तित रहेको भन्दै उनले आफुले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरुलाई अघि बढाउने बताए । ६ महिनाभित्र पार्टी एकता गराईसक्ने उपाध्यक्ष गौतमले दाबी गर्नुभयो । ६ महिना अघि नै एकता हुनसक्ने पनि उहाँको भनाइ छ ।

उपाध्यक्ष गौतमले प्रचण्ड–नेपाल र ओली पक्षधरलाई आफ्नो पक्षमा ल्याउने बताए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरेपनि आफुहरुले उक्त फैसलालाई शिरोधार्य गर्ने उनको भनाइ छ । वैशाखमा चुनाव भए राम्रो उम्मेदवार छानेर भोट हाल्ने भन्दै संसद पुर्नस्थापना भयो भने पार्टी एकीकरण गराउन समय समेत प्राप्त हुने उनले बताए । प्रतिनिधि सभा पुर्नस्थापना भए पार्टी एकता जोगाउन सकिने भएकोले आफ्नो भित्रि धारणा प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा रहेको बताए ।

उपाध्यक्ष गौतमले नेकपालाई विभाजन गर्न अध्यक्षद्धय ओली र प्रचण्डको बराबरी भूमिका रहेको बताए । पार्टी एकताको महत्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मंसिर ४ गते अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमती अनुसार आलोपालो प्रधानमन्त्री प्रचण्डले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताए ।

प्रस्तुत छ, नेता गौतमको सम्बोधन समेटिएको भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?