नेपालमा शुरु भयो कोरोनाविरुद्धको खोप अभियान, आजै १२ हजारलाई लगाइने

काठमाडौं । नेपालमा आज (बुधवार) बाट कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियान शुभारम्भ भएको छ ।

खोप अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल रुपमा गरेका हुन् ।

खोप अभियानमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठी लगायतको उपस्थित रहेको थियो ।

खोप अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले राष्ट्रपति विद्यादेवी भण्डारीले पत्र बाचन गरेका थिए ।

त्यस्तै आज देशका ७५ वटा जिल्लाका १२० वटा केन्द्रहरुबाट खोप अभियान एकैपटक शुरु भएको हो । आज देशभर १२ हजार जनालाई कोरोना विरुद्धको खोप लगाइने मन्त्री त्रिपाठीले जानकारी दिए ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई खोप लगाउन शुरु गरिएको छ ।

काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

त्यस्तै माघ १८ गतेबाट ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत पनि खोप प्रदान गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?