‘सूर्य चिन्हबाट चुनाव लड्न ओलीकै हस्ताक्षर चाहिन्छ’- उपप्रधानमन्त्री पोखरेल

RSS
0
Shares

सप्तरी-उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा मंगलबार आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रारम्भ गरिने भ्याक्सिन देशका सातै प्रदेशका चार लाख नेपालीले एक सातामा लगाउने बताए ।

नेकपाका सचिवालय सदस्य रहेका पोखरेलले ‘एक प्रदेश–एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’ निर्माण गर्ने सरकारको नीतिअन्तर्गत प्रदेश–२ को राजविराजमा बन्ने ‘रामराजा प्रसादसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को शिलान्यास गर्न चाँडै प्रधानमन्त्री ओली आउने बताए । पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालकै कारण पार्टीमा अहिलेको अवस्था आएको उनले टिप्पणी गरे ।

उपप्रधानमन्त्री पोखरेलले भने, “महाधिवेशन नहुञ्जेल दुई अध्यक्षको व्यवस्था र पाँच वर्षसम्म अध्यक्ष ओलीको नेतृत्वमा स्थिर सरकार रहने सहमति उहाँहरुले बीचमै तोडेर हटाउने षड्यन्त्र गरेका कारण पार्टी विभाजनको अवस्था आएको हो ।” निर्वाचन आयोगले नेकपा फुटको विरुद्धमा निर्णय गरेको व्याख्या गर्दै उपप्रधानमन्त्री पोखरेलले भने,’नेकपाबाट उम्मेदवार हुन र सूर्य चिन्हबाट चुनाव लड्न नेकपाको प्रथम अध्यक्ष ओलीकै हस्ताक्षर चाहिन्छ ।’

कार्यक्रममा शहरी विकास मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रभु साहले माओवादीको नाम, पहिचान, चुनाव चिन्ह, जातीय स्वायत्तता र आत्मनिर्णयको अधिकारको एजेण्डा प्रचण्डले त्यागेको बताए । अध्यक्ष र प्रधानमन्त्री पदका लागि एक–एक गरेर सहयोद्धाहरु बिर्सदै जाने, घाइते जनमुक्ति सेनाको रकम भ्रष्टाचार गर्ने असली माओवादी हुन नसक्ने भन्दै साहले जनमुक्ति सेना र माओवादीको एजेण्डा वर्तमान सरकारले पूरा गर्ने विश्वास दिलाए ।

नेकपा सप्तरीका संयोजक ताराकान्त चौधरीको अध्यक्षतामा भएको भेलामा कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, पूर्वमन्त्री तथा नेता सत्यनारायण मण्डल, रघुवीर महासेठ, राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, संविधानसभा पूर्वसदस्य ज्वाला साह र रञ्जु ठाकुर, केन्द्रीय सदस्य सुखराम यादव, अखिलेश झाले जीवनभरि अध्यक्ष बन्ने र चुनाव नजिते पनि प्रधानमन्त्री बन्ने प्रचण्ड र माधव नेपालको दोहोरो प्रवृत्तिका कारण पार्टी समस्यामा परेको धारणा राखे ।

भेलामा राजपा नेपालका तत्कालीन केन्द्रीय उपाध्यक्ष रामनारायण यादव, केन्द्रीय सदस्य उदयनारायण यादव, नथुनी यादव, मधेस राष्ट्रिय जनतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष अनिल सिंह, जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का केन्द्रीय सदस्य उपेन्द्र यादव, मोर्चा (भगत सिंह) का केन्द्रीय सदस्य भवानी अरगडिया, तराई जनतान्त्रिक मुक्ति मोर्चाका केन्द्रीय सदस्य योगेन्द्र यादव,  राप्रपाका अशोक साह, नेविसङ्घ जिल्ला सदस्य दिपक झा, जसपाका युवा नेताहरु मनिष झा, सन्तोष झा, सुरेश महतो, आनन्द मण्डल, सत्यम साहलगायत दुई हजार नेता, कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?