दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्दै प्राधिकरण

RSS
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न छ वटा कम्पनी छनोट गरेको छ ।

प्राधिकरणले भ्वाइस, डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न गत कात्तिकमा बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा परेका आवेदनमध्येबाट पहिलो चरणमा मूल्याङ्कनका आधारमा छ वटा कम्पनी छनोट गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए ।

उनका अनुसार महाकाली मेची टेक्नोलोजी एण्ड सप्लायर्स, प्रोफेसनल बिजनेशन नेटवर्क बानेश्वर, स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्चको जेभीका रुपमा जय बागेश्वरी कन्ट्रक्सन एण्ड सप्लायर्स चक्रपथ ललितपुर र इ–कोइल प्रालिको जेभीका रुपमा जलजला बिल्डर्स एण्ड इन्फ्रास्ट्रक्चर प्रालि तिनकुने काठमाडौं रहेका छन् । यसैगरी, इन्क्लुसिभ एभरेस्ट माइक्रोटेक जेभी र इन टेल्को सोलुसन प्रालि बालकुमारी ललितपुर छनोट भएका छन् ।

प्राधिकरणले छनोटमा परेका कम्पनीसँग दूरसञ्चार सेवाको गुणस्तर परीक्षणको आर्थिक र प्राविधिक प्रस्ताव माग गर्नेछ । छ कम्पनीले दिएको प्रस्तावका आधारमा प्राधिकरणले एक उत्कृष्ट कम्पनी छनोट गरिने प्रवक्ता अर्याल बताउँछन् । उक्त कार्यका लागि प्राधिकरणले ६० लाख बजेट विनियोजन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?