स्वास्थ्य बीमाको कन्तबिजोग : पाइलट प्रोजेक्टका रुपमा ल्याइएको योजना कछुवा गतिमा !

पाँच वर्षमा करिब ३५ लाख मात्रै सहभागी !

लोकपथ
0
Shares

कमला अर्याल /काठमाडौँ – सरकारले ‘पाइलट प्रोजेक्ट’ का रुपमा ल्याएको स्वास्थ्य बीमा सम्बन्धी योजना अलपत्र परेको छ।

२०७२ सालमा उच्च मनोकांक्षासहित ल्याएको योजनामा पर्याप्त ध्यान पुग्न नसक्दा यो योजनाको कन्तबिजोग भएको हो ।

एकातिर सरकारको ध्यान नपुग्नु र अर्कातिर सरकारकै अन्य स्वास्थ्य बीमा योजना पनि हुनुले यो योजना व्यवस्थित रुपमा अघि बढ्न नसकेको हो ।

स्वास्थ्य बीममा डुब्लिकेशन (धेरै थरीका स्वास्थ्य बीमा) भइरहेकाले पनि सरकारको यो बीमा कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन। सरकारले सम्पूर्ण नेपालीलाई यस स्वास्थ्य बीमा कार्यक्रमभित्र समेट्ने गरी २०७२ सालमा ल्याएको यो बीमा योजना पाँच वर्ष बितिसक्दा पनि लक्षित वर्गमा पु-याउन सकेको छैन ।

स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी हिमलाल ज्ञवाली पनि यस स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको स्वीकार्छन् । यो योजना शुरु गर्दा आम मानिसलाई बीमाका बारेमा बुझाउँन नै समस्या भएकाले यो कार्यक्रम प्रभावकारी रुपमा अगाडि नबढेको सूचना अधिकारी ज्ञवालीको भनाई थियो । तर पछिल्लो समय भने तिव्र रुपमा अगाडि बढेको उनको भनाई छ ।
पाँच वर्षमा करिब ३५ लाख मात्रै सहभागी :
बोर्डको तथ्याङ्क अनुसार हालसमम्म यो स्वास्थ्य बीमा कार्यक्रममा ३४ लाख ९४ हजार ९ सय २ जना मात्रै सहभागी भएका छन् । त्यसमध्ये सबै भन्दा बढी झापा जिल्लाका रहेको बोर्डले जनाएको छ ।

यस कार्यक्रममा झापाबाट ४ लाख १५ हजार ११ जना सहभागी भएका छन् ।

त्यस्तै,चितवनबाट २ लाख ८७ हजार ५ सय २५ जना र सुर्खेतबाट २ लाख ७४ हजार ७ सय १४ जना सहभागी भएका छन् ।

त्यस्तै भक्तपुर,कैलाली,कास्की,मकवानपुर,मोरङ,पाल्पा लगायतका जिल्लाहरुबाट १ लाख भन्दा बढी व्यक्तिहरु यस बीमा कार्यक्रममा सहभागी भएका छन् ।

बढी सहभागीता महिलाको,कुन प्रदेशमा कति ?
बोर्डको तथ्यांक अनुसार प्रदेश नम्बर २ बाहेक अरु सबै प्रदेशहरुमा महिलाको सहभागित उच्च रहेको देखिएको छ ।

बोर्डका अनुसार प्रदेश २ मा ५४ हजार ४ सय ५३ जना महिलाको सहभागीता रहेको छ भने ५३ हजार ९ सय ७१ जना पुरुष सहभागी भएका छन् । १ नम्बर प्रदेशबाट ५ लाख ७३ हजार २ सय ३५ जना महिला यस कार्यक्रममा सहभागी भएका छन् ।

त्यस्तै,गण्डकी प्रदेशबाट २ लाख १२ हजार १२ जना, सुदूरपश्चिम प्रदेशबाट १ लाख ५१ हजार, ६ सय ३९ जना, लुम्बिनी प्रदेशबाट २ लाख ८७ हजार ९ सय ४६ जना, कर्णाली प्रदेशबाट १ लाख १९ हजार ९ सय ९४, बाग्मती प्रदेशबाट ३ लाख ७५ हजार महिला यस स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् ।

यस्ता छन् स्वास्थ्य बीमा योजनाका व्यवस्था :
यस बीमा योजनाअन्र्तगत ३ हजार ५ सय रुपैँयामा पाँच जना परिवारको स्वास्थ्य बीमा गरिन्छ । जसमा एक वर्षभित्र सो बीमित बिरामी भएमा १ लाख रुपैँया प्राप्त गर्न सक्छ । त्यस्तै सरकारले यस कार्यक्रमा सबैलाई समेट्न विशेष सुविधा पनि उपलब्ध गराएको छ । अति गरिबको परिचय पत्र पाएका ७० वर्ष नाघेका जेष्ठ नागरिक, अपांगता भएका, कुष्ठ रोगी, एचआइभी संक्रमितलाई यो बीमा निशुल्क गरेको छ ।

स्वास्थ्य स्वयंसेविकाका परिवारको हकमा भने ५० प्रतिशत मात्रै शुल्क लाग्ने व्यवस्था छ । ३ हजा र ५ सयमा गरिने यो बीमा स्वास्थ्य स्वयं सेविकाका परिवारले १ हजार ७ सय ५० रुपैँया मात्रै तिर्दा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?