शहीद सप्ताह : धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । राणा शासनको विरुद्धको संघर्षमा आफ्नो प्राणको आहुती दिने शहीद धर्मभक्त माथेमाको शालिकमा फुलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

शहीद सप्ताहको अवसरमा मंगलवार काठमाडौंको सिफलमा रहेको माथेमाको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य लगायतले सहिद माथेमा शालिकमा माल्यार्पण गरी श्रद्दाञ्जली व्यक्त गरेका हुन् ।

जहाँनिया राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापनाको निम्ति संर्घषरत माथेमा बि.सं. १९६६ आश्विन ९ गते काठमाडौंको ओमबहालमा जन्मिएका थिए । जनतालाई प्रजातन्त्र दिलाउने उद्धेश्यसाथ बि.सं. १९९३ साल जेठमा नेपाल प्रजा परिषद् स्थापना गरी प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल उनलाई तत्कालिन श्री ३ जुद्ध शमशेरको हुकुमी शासनबाट बि.सं. १९९७ साल माघ १३ गते सिफलमा झुण्ड्याएर फाँसी दिईएको थियो ।

सहिद माथेमाको सम्झना र सम्मानमा हरेक वर्ष माघ १३ गते उनको शालिकमा माल्यापर्ण गरी श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?