चलचित्र पत्रकारिता पुरस्कार चार जनालाई दिइने

काठमाडौं । चलचित्र पत्रकार सङ्घ चितवन शाखाले तीन जना पत्रकार तथा एक जना कलाकारलाई पुरस्कृत गर्ने भएको छ । शाखाको माघ २५ गते नेपाल पत्रकार महासंघ चितवन शाखाको हलमा हुने साधारणसभाका क्रममा पुरस्कार प्रदान गरिने सचिव आनन्द पोखरेलले बताए ।

साधारणसभामा फरक फरक चार वटा विधामा पाँच हजार ५ सय ५५ रुपैयाँ राशिका पुरस्कार प्रदान गर्न लागिएको पोखरेलले बताए । साधारसभाका क्रममा लामो समयदेखि कलाकारिता गर्दै आएका कलाकार ऋद्धिचरण श्रेष्ठलाई इन्द्रदेव कलाकारिता पुरस्कारबाट सम्मान गरिँदै छ । त्यस्तै एजुर अभियसन सक्रिय पत्रकारिता पुरस्कारबाट चितवन पोष्टका किशोर खनाल, नन्दप्रसाद–सुशीला युवा पत्रकारिता पुरस्कारबाट एजटुडेज समाचारका सुशील पन्त र सेन्ट्रल कलेज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अनलाइन खबरका विजय आवाजलाई पुरस्कृत गर्न लागिएको हो ।

साधारणसभाको तयारी तीव्र गतिमा भइरहेको संघका जिल्ला अध्यक्ष रवि अधिकारीले बताउनुभयो । जिल्लामा रहेर चलचित्र पत्रकारिता गर्दै आइरहेका व्यक्तिहरुलाई संघको सदस्यता लिन प्रेरित गर्दै नयाँ सदस्यता आह्वान गरिएको समेत अधिकारीको भनाइ छ । चलचित्र पत्रकार संघ चितवनले चाँडै नै केन्द्रीय स्तरको चलचित्र पत्रकारिता सम्बन्धी कार्यशाला सञ्चालन गर्न लागेको समेत उनले बताए ।

गत जेठनै पुरस्कार घोषणा गरिएको भए पनि देशमा जारी कोरोना सङ्क्रमणको त्रासका कारण पुरस्कार वितरणमा ढिलाइ भएको थियो । साधारणसभाको प्रमुख अतिथिका रुपमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई बोलाउने तयारी भइरहेको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?