कोरोनाका कारण साँघुरियो माने पर्व

RSS
0
Shares

हुम्ला । हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मंगोलियन मूलका बासिन्दाले मनाइने माने पर्वको रौनक यस पटक भने कोरोना भाइरस संक्रमणका कारण साँघुरिएको छ ।

हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मंगोलियन मूलका बासिन्दाको एक प्रमुख हिँउदे पर्व माने हो । यो पौराणिक तथा ऐतिहासिक उत्पत्तिकाल र सन्दर्भलाई विभिन्न प्रकारका नाचहरुको माध्यमबाट प्रस्तुत गर्ने एक सशक्त दृष्य माध्यम पनि हो ।

हुम्ला जिल्लामा बसोबास गर्ने मंगोलियन मूलका बासिन्दाको आ–आफ्नै जातियभित्रको उपजाति रहेको छ । तीमध्ये लिम्या, हिल्जोदुन, टुक्टुलुङ न्हिवा र चाँवा प्रमुख छन् । यी समूहभित्र पनि आफू आफू माथिल्लो तह र रैथाने भन्ने मतमतान्तर रहेको जानकारी हुम्ली तिब्बतीयन अध्येयता छेवाङ लामाले दिए ।

प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पौराणिक कुराको समयोजन गर्ने गराउने यो एक अति महत्वपूर्ण हिउँदे पर्व हो । यसले युद्धको विभिषिकादेखि सामाजिक आचारविचार र मौसमी पात्राको रुपमा व्याख्या र विश्लेषण गर्ने गरेको छ । यस पर्वमा भोट साम्राज्यका पौराणिक तथा ऐतिहासिक ग्याल्बु नोर्जांङ र गेशरको महिमा गाइने गरिन्छ । विभिन्न पक्ष र नक्षेत्र मिलाएर विभिन्न समयमा मनाइने यो पर्व यही माघ शुक्ल पक्षका दिनमा हेप्का, गाडपारी, बुराउँसे र दोजाममा खेलिन्छ ।

यो पर्वमा विभिन्न प्रकारका खराब आत्मलाई टाढाटाढा भगाउनेदेखि गाउँको सुरक्षा कवचको रुपमा मानिने काङ्नी गुम्बाबाट शुरु गरेर गाउँको सामूहिक तथा सामुदायिकस्थलमा खेल्ने, गीत गाउने तथा नाच प्रदर्शन गर्ने गरिन्छ । यसमा टाढाटाढा तथा छिमेकी गाउँबाट आएका मितमितेरी तथा इष्टकटुम्बलाई सम्मान र सौगातका साथ खुवाउनेपियाउने गरिने हेक्पा गाउँका युवा रामसिंह लामाले बताए ।

विभिन्न गाउँमा विभिन्न जातीय महत्व बोकेको माने नाच ऐतिहासिक आभूषण तथा बस्त्र प्रदर्शन गर्ने गराउने एक उपयुक्त दिन पनि हो । हुम्लाका यस्ता जातीय तथा समाजशास्त्रीय महत्व बोकेका सम्पदा र निधिले हुम्ला सम्पन्न भए पनि खोजी हुन नसक्नुलाई यहाँको चुनौती र समस्या पनि मानिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?