संवैधानिक इजलासमा बहस : प्रधानमन्त्री ओली हिटलर बन्न खोजेको टिप्पणी !

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा परेका मुद्दाहरुमाथि संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ ।

मंगलवार (आज) को बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओली हिटलर नै बन्न खोजेको हो कि भन्दै प्रश्न गरेका छन् । यसअघि सोमवार पनि वरिष्ठ अधिवक्ता थापाले बहस गरेका थिए । सोमवारको बहसमा कुरा नटुंगिएपछि थापाले मंगलवार (आज) पनि बहस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफूलाई कामगर्न दुई तिहाई बहुमत चाहिएको भन्ने भनाई इजलासमा स्मरण गराउँदै दुई तिहाई बहुमत नै लिएर हिटलर नै बन्न खोजेको हो ? भन्दै प्रश्न गरे।

‘उहाँ (प्रधानमन्त्री) ले आफूलाई दुई तिहाई बहुमत चाहियो भन्नुभएको छ, प्रतिनिधिसभाले उहाँलाई कुन काम गर्न रोक्यो ? केका लागि उहाँलाई दुई तिहाई चाहिएर प्रतिनिधिसभा विघटन गर्नुभयो ? दुई तिहाई बहुमत लिएर उहाँ हिटलर नै बन्न खोज्नुभएको हो ?’ बहसका क्रममा वरिष्ठ अधिवक्ता थापाले भने ।

थापाले संविधानमा नगरपालिका समेत भंग गर्न नपाइने व्यवस्था रहेको जिकिर गर्दै प्रतिनिधि सभा नै विघटन गरेर प्रजातन्त्रमाथि गम्भीर प्रश्न उठाएको बताए ।

त्यस्तै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको अधिकार आफूमा रहेको दावी लिखित जवाफमा गरे पनि संविधानमा त्यस्तो अधिकार प्रधानमन्त्रीलाई नभएको उनले प्रस्ट पारेका छन् ।

बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटनको मुद्दामा सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने महसुस आफूहरुलाई भएको बताएका छन् ।

वरिष्ठ अधिवक्ता थापाले लयरहरुले संवैधानिक इजलासमा न्यायाधीश थप्नुपर्ने सुझाव दिएको बताएका थिए ।

थापाले इजलासमा न्यायाधीशको संख्या थप्नुपर्ने भनेर भएको बहस स्मरण गर्दै आफू पाँच जनाको इजलासप्रति आफू विश्वस्त रहेको बताएका थिए ।

त्यस्तै बहसका क्रममा विवाद भएमा न्यायाधीशहरु थप्नुपर्नेमा जोड दिएका छन् । उनले भने, ‘यत्तिको विवादमा ५ जना न्यायाधीश इनफ हो ? यो भन्दा पनि ठूलो विवाद भएमा संख्या थप्नुपर्ने हुनसक्छ, लयरहरुले पनि संख्या थप्न सकिने सुझाव दिनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?