नयाँ लगानीकर्ता भित्रिँदा पनि सुध्रिएन नारायणी डेभलपमेन्ट बैंक : वित्तीय अवस्था उच्च जोखिममा !

लोकपथ
0
Shares

काठमाडौं । समस्याग्रस्त वित्तीय संस्थाको सूचीबाट हटेपनि नारायणी डेभलपमेन्ट बैंकले आफ्नो बिग्रेको छवि सुधार गर्न सकेको छैन । नेपाल राष्ट्र बैंकले यस बैंकलाई २०७० चैत २७ गते समस्याग्रस्त घोषणा गरेको थियो । नारायणी डेभलपमेन्टको खराब कर्जा उच्च भएपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको थियो ।

यस बैंकलाई राष्ट्र बैंकले गत साउन ८ गतेको निर्णय अनुसार समस्याग्रस्तबाट हटाएको थियो । बैंकमा नयाँ लगानीकर्ता भित्रिएपछि निश्चित शर्तमा राष्ट्र बैंकले यस बैंकलाई समस्याग्रस्तबाट फुकुवा गरेको थियो । नारायणी डेभलपमेन्ट बैंक रियल स्टेट तथा अनुत्पादकत्व क्षेत्रमा अधिक लगानी, राजनीतिक प्रभाव, आन्तरिक ऋण प्रवाह, नियमन, सुपरिवेक्षण र संस्थागत सुशासनको कमी लगायतका कारण समस्याग्रस्त भएको थियो । तर नारायणी डेभलपमेन्ट बैंकले भने अझै पनि वित्तीय अवस्थामा सुधार गर्न सकेको छैन । यस बैंकको वित्तीय अवस्था उच्च जोखिममा रहेको देखिएको छ ।

यस बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ५० करोड पुर्‍याउन अझै सकेको छैन । त्यसैका लागि बैंकले माघ १३ गते थप २०० कित्ता हकप्रद शेयर निष्काशन गरिसकेको छ ।

बैंकले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर बिक्री गरेको हो । बैंक प्रति कित्ता १०० रुपैयाँ बराबर रहेको छ । बैंकले माघ १९ गते साधारणसभा गर्दैछ । पुस २९ गते बैंकको ‘बुक क्लोज’ भएको थियो ।
क्रेडिट रेटिङ एजेन्सी (इक्रा) नेपालले यसअघि नै बैंक उच्च जोखिममा भएको भन्दै ‘इक्राएनपीआईआर सिङ्गल सी’ रेटिङ प्रदान गरेको थियो ।

इक्राको यस्तो रेटिङको अर्थ बैंकले समयमा वित्तीय दायित्व पूरा नगरेको भन्ने हो । जसका कारण बैंक उच्च जोखिम रहेको भन्ने बुझिन्छ । हाल बैंकको चुक्ता पूँजी ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ छ । हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्ने बैंकले जनाएको छ ।

२०७० चैतमा समस्याग्रस्त घोषणा हुँदा बैंकमा ४१ करोड १ लाख ५ हजार रुपैयाँ कर्जा थियो । त्यसबेला बैंकले ११ हजार ६७७ खाताको ८२ करोड ८५ लाख निक्षेप फिर्ता गर्नुपर्ने थियो । त्यसको चार वर्षपछि २०७४ चैतसम्म कर्जा ६ करोड ८५ लाख ५५ हजार रुपैयाँमा झारेको थियो ।

२०७४ पुससम्म निक्षेप घटाएर ११ हजार २३५ खाताको १२ करोड ९० लाख ३१ हजार रुपैयाँमा झारेको थियो । त्यसबेला बैंकको निष्क्रिय कर्जा अनुपात ९५.५२ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?