‘माउण्ट केटू’ आरोहण गर्ने १० आरोहीलाई प्रधानमन्त्रीद्वारा सम्मान (फोटोमा हेर्नुहोस्)

काठमाडौं । विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोहीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्मान गरिएको छ ।

मंगलवार स्वदेश फर्किएका १० पर्वतारोहीहरुलाई बिहान एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन् ।

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् ।

उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।

त्यस्तै उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरिएको थियो । विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच सम्मान गरिने कार्यक्रम रहेको छ ।

नेपाली आरोही समूह यही माघ ३ शनिवार राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रतिकूल मौसमका कारण आरोहण समय तालिका ढिलाइ भएको थियो । दोस्रो क्याम्पमा आरोहीको त्रिपाल र आरोहणका लागि आवश्यक उपकरण हावाले उडाएपछि आरोहणमा केही चुनौती थपिएको थियो । विभिन्न कठिनाइबीच आरोहीले शिखरयात्रा पार गरी नेपालीको शानलाई विश्वभर पुर्याउन सफल भए ।

फोटोहरु हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?