नयाँ कोरोना भाइरस : के होला कोरोना बीमा ?

लोकपथ
0
Shares

कमला अर्याल /काठमाडौं – नेपालमा पनि नयाँ कोरोना भाइरसको संक्रमण देखिन थालेपछि अब कोरोना बीमा के होला भन्ने चर्चा चल्न थालेको छ ।

विश्व स्वास्थ्य संगठन (WHO) ले बेलायतमा नयाँ किसिमको कोरोना भाइरस भेटिएको बताएको थियो । सो भाइरस बेलायतबाट नेपालमा पनि भित्रिसकेको छ । पूरानो कोरोना बीमाको दाबी भुक्तानीमा समस्या भइरहेका बेला नयाँ कोरोना भाइरसको बीमा के हुन्छ भन्ने सर्वत्र चर्चा चल्न थालेको छ ।

यस विषयमा बीमा कम्पनीहरुको नियमन निकाय बीमा समितिले कुनै तयारी गरेको छैन । यसको कारण हो – ‘पुरानै बीमा पोलिसीले नै नयाँ कोरोनालाई समेट्छ ।’

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुरानै पोलिसीले समेट्ने भएकाले तयारी गर्नुपर्ने आश्यकता नभएको बताए ।

कोरोना बीमा पोलिसीको पुरानो व्यवस्था अनुसार कोरोना पोजेटिभ पुष्टी भएको एक हप्ता भित्र बीमा बापतको रकम दाबी गर्न पाइने र भुक्तानी गर्ने व्यवस्था थियो ।

बीमा कम्पनी १ लाख र ५० हजार रुपैँयाका बीमा पोलीसी बिक्री गर्दै आएका छन् ।

कोरोना बीमा गर्दा ५० हजारको लागि प्रतिव्यक्ति ५ सय र १ लाखको लागि १ हजार प्रिमियम तिर्नुपर्छ । परिवारको सदस्यले गर्दा भने ५० हजारको लागि प्रति व्यक्ति ३ सय र १ लाखको लागि भने प्रतिव्यक्ति ६ सय प्रिमियम तिर्नुपर्छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले कोरोना बीमा सम्बन्धी व्यवस्था परिवर्तन ग-यो ।

नयाँ व्यवस्था अनुसार कोरोना पुष्टी भएपछि तल्काल २५ हजार रुपैँया प्राप्त गर्छन् भने अरु ७५ हजार औषधी उपचार गरेको प्रमाणका आधारमा प्राप्त गर्न सक्छन् । यसै व्यवस्थाका आधारमा नयाँ कोरोना बीमा गर्न सकिने कार्यकारी निर्देशक पौडेलले बताए ।

बीमा कम्पनीहरु पनि नयाँ कोरोना बीमा गर्न तयारी अवस्थामा बसेका छन् । पुरानै पोलिसीले समेट्ने भएकाले कुनै समस्या नभएको बीमक संघका महासचिव चंकी क्षेत्रीले बताए ।

नयाँ कोराना भाइरस
बेलायतबाट शुरु भएको नयाँ कोरोना भाइरसलाई बेलायतले भियूआई (भ्यारियन्ट अन्डर इन्भेस्टिगेसन) नामाकरण गरिएको छ । विज्ञहरूले नयाँ भाइरस पुरानो कोरोना भाइरसको तुलनामा ७० प्रतिशत बढीले तीव्र फैलिन सक्ने बताएका छन्  । यो भाइरस नेपालमा पनि देखा परिसकेकाले सचेत रहन सरकारले आग्रह गरिरहेको छ ।

हालसम्म कोरोना बीमा बापत झन्डै ३ अर्ब रुपैयाँ दाबी भुक्तानी भएको समितिले जनाएको छ ।

आइतबारसम्मको तथ्यांक २ अर्ब ९४ करोड ७३ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी भएको छ ।

रकम भुक्तानी लिनेको संख्या ३० हजार नाघेको समितिको तथ्यांकले देखाएको छ । हालसम्म ३० हजार २७० जनाले कोरोना बिमा वापतको रकम भुक्तानी लिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?