लमजुङमा अल्ट्रा म्याराथनको तयारी तीव्र

RSS
0
Shares

तनहुँ । शहीद दिवसको अवसरमा यही माघ १६ गते आयोजना हुने चौथो व्यास अल्ट्रा म्याराथनको तयारी तीव्र पारिएको छ । चवालीस किमी दूरीको म्याराथनका लागि देशका विभिन्न जिल्लाबाट धावकहरुले नाम दर्ता गर्ने क्रम जारी रहेको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः ८५ हजार ७७, ६५ हजार ७७, ५५ हजार ७७ र सान्त्वना पाँच जनाले १६ हजार ७७ नगद पुरस्कार पाउनेछन् । नगरपालिकाले यो पटक म्याराथनको पुरस्कार राशि वृद्धि गरेको हो । प्रथम, द्वितीय र तृतीय पुरस्कार राशिमा चार हजार एकका दरले वृद्धि गरिएको छ । गत वर्ष प्रथम, द्वितीय र तृतीय हुनेहरुले क्रमशः ८१ हजार ७६, ६१ हजार ७६ र ५१ हजार ७६ प्राप्त गरेका थिए ।

माघ १४ गतेसम्म नाम दर्ताको समय राखिएको र १५ गते धावकलाई अभिमुखीकरण सञ्चालन गरिनेछ । धावकले नियम पालना गरे÷नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिनेछ । व्यास–४ व्यास रेन्जपोष्ट, व्यास–१० पिजनहिल खहरे, व्यास–७ पाथ्रा मन्दिर, व्यास–७ पातल सत्रसय, व्यास–८ रिस्ती सोतीबेँसी, व्यास–८ सुनपोखरी, व्यास–८ गाडापानी र व्यास–८ पुलिमराङमा चेकविन्दु स्थापना गरिनेछ ।

म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटारचोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँडिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ । गत वर्षको म्याराथन सोलुखुम्बुका सुमन कुलुङले जितेका थिए। उनले ४४ किमी दूरी दुई घण्टा ५९ मिनेटमा पार गरेका थिए । प्रतियोगितामा कालिकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?