जुन समूहले अध्यक्ष दिन्छ उतै गएर पार्टी एकताको काम गर्छु: वामदेव गौतम

काठमाडौँ । पार्टी एकताको पक्षमा उभिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले आफू जता गए पार्टी एकता हुन्छ त्यतै जाने बताएका छन् । सोमबार पत्रकारहरूसँगको कुराकानीमा गौतमले आफू कुनै पनि समूहमा नलागेको बताउँदै जुन समूहले अध्यक्ष दिन्छ त्यतै जाने धारणा राखेका हुन् ।

“म कुनै समूहमा जानका लागि अभियान चलाएको होइन”, उनले भने, “जुन समूहले मलाई अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुन्छु र पार्टी एकता गर्दछु ।” आफूले पार्टीमा गुटबन्दी नगरेकाले आफ्नो पक्षमा कोही नभएको उनको गुनासो छ । “मैले पार्टीमा गुटबन्दी नगरेकाले मसँग कोही पनि केन्द्रीय सदस्य छैनन्, मसँग अहिले हरि पराजुलीभन्दा कोही छैनन्”, उनले भने ।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पनि आफूले एक गराएको भन्दै उनले पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गरे । “त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाइ नेकपा बनाएको थिए”, उनले भने, “अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु ।” उनले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने जिकिर गरे ।

अर्को प्रसंगमा उनले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताए । “आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ,” उनले भने । उनले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताए।

नेता गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि यही माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । एकता अभियानका संयोजकमा गौतम, सहसंयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा छन् । एकता अभियानसँगै नेता गौतमले लेखेका ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१औँ शताब्दीको कम्युनिष्ट पार्टी’, ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ नामक तीन पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?