आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । गत पुस ७ गतेदेखि शुरु भई पुस १९ सम्म चलेको बैठक आज पुनः बस्न लागेको हो।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्‍ने बैठकमा प्रतिनिधिसभा विघटन, प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव र १४ औं महाधिवेशन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले औपचारिक रुपमा प्रतिनिधिसभा विघटनलाई असंवैधनिक भने पनि यसको पुनर्स्थापना हुनुपर्ने विषयमा जोड दिएको छैन। सभापति शेरबहादुर देउवा निर्वाचनमा जाने मनसयमा देखिन्छन् । उनले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले नबोल्ने परम्परा रहेको बताउँदै आएका छन् भने उनी इतरका नेताहरुले प्रतिनिधिसभा पुनर्स्थापना हुनै पर्ने अडानमा रहेका छन्।

कांग्रेसको आजको केन्द्रीय समिति बैठकमा सडक आन्दोलन चर्काउने विषयमा नै छलफल केन्द्रित हुने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?