नयाँ प्रकारको कोरोनाविरुद्ध मोडेर्नाको खोपले काम गर्ने दाबी

एजेन्सी । अमेरिकी औषधी उत्पादक कम्पनी मोडेर्नाका वैज्ञानिकहरूले आफ्नो कोभिड खोपले निकै संक्रामक मानिएको नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध पनि काम गर्ने दाबी गरेका छन् । कम्पनीका अनुसार प्रारम्भिक रूपमा प्रयोगशालाको वातावरणमा गरिएको जाँचमा भाइरसका त्यस्ता भेरियन्ट (प्रकार)लाई उक्त खोपले पहिचान गर्न र लड्नका लागि प्रतिरोधी तत्व बनाउन सक्ने देखिएको बीबीसीले जनाएको छ ।

अध्ययनका लागि अनुसन्धानकर्ताहरूले यो खोपका दुवै खेप लगाइसकेका आठजना मानिसहरूबाट लिइएको रगतको नमूना जाँच गरेका थिए। उनीहरूको निष्कर्षको वैज्ञानिक जगतमा समीक्षा हुन बाँकी रहे तापनि त्यो नयाँ प्रकारको भाइरससँग प्रतिरोधी रहेको देखिएको हो।

यद्यपी यो खोप दक्षिण अफ्रिकाबाट देखा परेको भेरियन्टका हकमा भने यूके-भेरियन्ट जत्तिको बलियो पाइएको थिएन।

मोडेर्नाले भनेको छ, “त्यसको अर्थ दक्षिण अफ्रिका-भेरियन्टका हकमा भने भाइरसबाट बचाउने क्षमता छिट्टै हराउन सक्छ ।” दक्षिण अफ्रिकामा देखा परेको कोरोनाभाइरसको नयाँ प्रकारका लागि कम्पनीले दोस्रो बुस्टर थप गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?