चालक पेशा छोडेर भैँसीपालन तर्फ

RSS
0
Shares

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–५ मथानीका रामहरि सुवेदी केही महिना अघिसम्म चरीकोटमा गाडी चलाउँथे । पर्यटकको चहलपहल हुने चरीकोटमा घुम्न जान उनलाई फोन गरेर बोलाउने गर्थे । अहिले उनी त्यो पेशामा देखिदैनन् ।

गाडी भाडामा चाहियो भनेर फोन गर्नेहरु अहिले दूध चाहियो भन्छन् । चरीकोटका आफनो पुराना सबै व्यवसाय छाडेका सुवेदीले भीमेश्वर नगरपालिका–५ मथानीमा सात भैँसी पालिरहेका छन् । अन्य पेशाभन्दा भँसीपालनबाट सुवेदीले राम्रो आम्दानी गरेका छन् । उनले जग्गा लिएर भैँसी फार्म निर्माण गरेका हुन् । दैनिक ७० देखि ८० लिटरसम्म दूध सङ्कलन हुने गरेको छ । सुवेदी बिहान आफैँ मोटरसाइकलमा चरीकोटकोपसलहरुमा दूध पुर्‍याउन जान्छन् ।

बजारमा डेरीको भन्दा भैँसीको दूधको माग धेरै छ । बजारमा नै लगेर ८० रुपैयाँमा एक हर्लिक्स दूध बेच्न गरेको सुवेदीको भनाइ छ । दूध बेचेर मासिक एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको सुवेदीको भनाइ छ । खर्च कटौती गरेर मासिक ६० देखि ७० हजारसम्म फाइदा हुने उनको कथन छ ।

फार्ममा हाल मुर्रा र लाहुरे जातका भैँसी छन् । तीन जनालाई रोजगारीसमेत दिएका सुवेदीले मथानी कृषि तथा पशुपक्षी फार्म दर्ता गरी व्यावसायिकरुपमा नै सञ्चालनको तयारी गरेका छन् ।

फार्म विस्तार गरी ३१ वटासम्म भैँसी सहजै पाल्न सकिने बनाइएको छ । करीब २० वटा भैँसी दुहुनो राख्ने योजना सुवेदीको छ । हालसम्म करीब ५० लाख लगानी गरिसकेको र भैँसीपालनका साथै अर्गानिक तरकारी खेतीको समेत तयारी गरिएको सुवेदीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?