संवैधानिक इजलासमा बहस : प्रधानमन्त्री ओलीसँग अर्कै संविधान भएको टिप्पणी

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेका मुद्दाबारे निरन्तर बहस भइरहेको छ ।

सोमवारको बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अर्कै संविधान भएको टिप्पणी गरेका छन् ।

सर्वोच्चमा विचाराधिन मुद्दामा प्रधानमन्त्री ओलीको प्रतिक्रियालाई ब्यंग्य गर्दै त्यस्तो टिप्पणी दिएका हुन् । ‘श्रीमानहरूले संविधान पल्टाएर यत्रो जिज्ञासा राख्नुभएको छ । संविधान त्यही हो । प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा अध्यक्ष (सुवास नेम्वाङ) सँग अर्को संविधान छ ।’ बहस गर्दै उनले भने ।

त्यस्तै अहिलेको संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको समेत बताएका छन् ।

अधिवक्ता थापाले बहस शुरू गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले खाजाअघि बहस सकाउन आग्रह गरेका थिए । तर थापाले यतिमै बहस नसकिने बताउँदै शुरु गरेका थिए ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेको विरुद्धमा दर्जन बढी रिटहरु परेका छन् । गत आइतवारबाट सर्वोच्चको संवैधानिक इजलासमा उक्त मुद्दाहरुमा निरन्तर बहस भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?