मेक्सिकोका राष्ट्रपतिलाई कोरोना संक्रमण

लोकपथ
0
Shares

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उनलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ ।

सामाजिक संजालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भनेका छन्, “म कोभिड–१९ बाट संक्रमित भएको छु । मलाई देखिएका लक्षणहरु सामान्य छन् र मैले औषधि उपचार शुरु गरिसकेको छु ।”

बामपन्थी झुकाव राख्ने राष्ट्रपति ओब्राडोरलाई सार्वजनिक कार्यक्रमहरुमा बिरलै मास्कमा देखिन्छ । उनी महामारीको चरम अवस्थाका दिनहरुमा पनि दिनहुँजसो सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुने गरेका छन् ।

उनी देशका विभिन्न भागमा निरन्तर भ्रमण गरिरहनु भएको छ भने शुक्रवार पनि उत्तर राज्य सान लुइस पोटोसीको भ्रमण गरेका थिए ।

राष्ट्रपति ओब्राडोर सन् २०१३ मा हृदयाघात भएको थियो भने उनलाई हाइपरटेन्सनको समस्या पनि छ । यस्ता रोगहरु भएका व्यक्तिलाई कोभिड–१९ को संक्रमण खतरनाक मानिन्छ ।

मेक्सिकोमा गत डिसेम्बर २४ देखि खोप अभियान शुरु भइसकेको छ । मेक्सिकोले फाइजरले उत्पादन गरेको खोपका अतिरिक्त अस्ट्राजेनिका र अक्सफोर्डले विकास गरेको खोप पनि प्रयोगमा ल्याउने जनाइसकेको छ ।

मेक्सिकोमा हालसम्म कोरोना संक्रमित झण्डै एक लाख ५० हजारको मृत्यु भइसकेको छ भने १७ लाख ६३ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?