के हो आरटिजिएस प्रणाली ? फराकिलो बन्दै यसको दायरा

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको दायरा फराकिलो बनाइरहेको छ ।

पछिल्लो समय नगद भुक्तानीलाई न्यूनिकरण गर्दै विद्युतीय भुक्तानीलाई बढवा दिन राष्ट्र बैंकले आरटिजिएस प्रणालीको दायरा फराकिलो बनाएको हो ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले सरकारको नीति अनुसार राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई तिव्र रुपमा अगाडि बढाएको बताए । उनका अनुसार आरटिजिएस प्रणालीबाट कारोबार गर्न सर्वसाधारण आकर्षित समेत भएका छन् । सरकारले बजेटमार्फत पनि पनि विद्युतीय भुक्तानीलाई प्राथमिकता दिने उल्लेख गरेको छ ।

जसअन्तर्गत नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले हालै ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ । राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै एनसीएचएलले १० कम्पनीलाई यस प्रणालीमा आवद्ध गराएको हो । आरटिजिएस प्रणालीमा आवद्ध हुने बैंक तथा वित्तीय संस्थाहरुमा ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, संग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स लगायत रहेका छन् । यसअघि संचालनमा रहेका कुल २७ मध्ये २५ वटा वाणिज्य बैंकहरूमा ‘आरटिजिएस’ प्रणाली सञ्चालनमा आइसकेको छ ।

के हो आरटिजिएस प्रणाली ?

बिना चेक, बिना झण्झट केही मिनेटमै विद्युतीय माध्यमबाट भुक्तानी गर्ने प्रक्रियालाई नै आरटिजिएस प्रणाली भनिन्छ । यो भुक्तानी प्रणालीमा एक व्यक्तिले अर्को व्यक्तिलाई भुक्तानी गर्दा चेक नकाटिकन नै भुक्तानी गर्न सकिन्छ । कुनै पनि वस्तु तथा सेवा खरिद बिक्री भएपछि त्यसको भुक्तानी गर्नुपर्ने हुन्छ । सो भुक्तानीका लागि विभिन्न माध्यमद्वारा गरिने भुक्तानीमध्ये आरटिजिएस प्रणालीलाई निकै प्रभावकारी मानिन्छ । चेक साट्न पनि केही समय लाइनमा कुर्नुपर्ने हुन्छ । अहिलेको व्यस्त समयमा चेकै नकाटी गरिने यस प्रकारको भुक्तानी निकै फलदायी मानिएको छ । यस प्रणालीमार्फत अहिले भुक्तानी ग-यो भने तत्कालै भुक्तानी दिन सकिन्छ ।

राष्ट्र बैंकले गत वर्षदेखि आरटिजिएस प्रणाली लागू गरेपछि भुक्तानीमा नयाँ युगको सुरुवात भएको बताएको थियो । यो प्रणालीअन्तर्गत अब बैंकले एकै पटक एउटा बैंकबाट अर्को बैंकको खातामा रकम पठाउन सक्नेछन् । तर, यस्तो सुविधा २० लाख रुपैयाँभन्दा बढीको कारोबारमा मात्र उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ । आकस्मिक भुक्तानी गर्नुपर्ने अवस्थामा कम्तीमा २ लाख रुपैयाँसम्मको भुक्तानी यो प्रणालीमार्फत् गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्ता छन् यसका फाइदाहरु : 

यस प्रणालीबाट कारोबार गर्दा सर्वसाधारणलाई विभिन्न फाइदा हुन्छ । सबैभन्दा पहिलो एक व्यक्तिले अर्कोलाई सय रुपैयाँ भुक्तानी दिनु पर्दा कुनै ‘ए’ भन्ने बैंकबाट अर्काे ‘बी’ भन्ने बैंकमा तत्कालै (सेकेण्ड) मै भुक्तानी गर्न सकिन्छ ।

मानौँ भुक्तानी लिनुपर्ने व्यक्ति मुलुकको कुनै कुनामा छ । भुक्तानी दिनुपर्ने व्यक्ति अन्य कुनै ठाउँमा छ भने भुक्तानी दिनु पर्दा तत्काल भुक्तानी लिन वा दिन सकिन्छ । चेकको प्रक्रिया अहिले लामो हुन्छ । त्यस्तै, यस प्रणालीबाट गरिने कारोबारले चेक प्रिन्टिङ गर्ने खर्च पनि घट्छ । चेक बोक्ने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । एकैचोटी धेरै नगद बोकेर हिड्नु पनि परेन । जसबाट चोरी हुने वा चेकको दुरुपयोग हुने संभावित खतराबाट पनि बच्न सकिन्छ ।

त्यस्तै, अर्काे फाइदा भनेको पैसा सप्लाईमा हुन्छ । तत्काल पैसा सप्लाइ हुँदा पैसाको ‘भ्यालु’मा समेत प्रभाव पर्छ । भुक्तानी छिट्टै हुने हुँदा सप्लाईमा यसको सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?