कोटेश्वर–कलंकी सडकको ७ स्थानमा ट्राफिक बत्ती जडान गरिने

RSS
0
Shares

काठमाडौं । सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभागले दुई वर्ष पहिले चीन सरकारका आर्थिक सहयोगमा विस्तार भएको कोटेश्वर–कलंकी सडकमा सात स्थानमा बत्ती राख्न लागेको हो ।

विभागले सवारीसाधनको चाप बढी भएका र पैदलयात्रु बढी भएका सडकमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । यस सडकमा चालू आ.वभित्रै सम्झौता गर्ने योजना रहेको विभागका सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख कृष्णनाथ ओझाले जानकारी दिए ।

चक्रपथका विभिन्न खण्डमा बत्ती राख्न चालू आ.वमा बजेट नभए पनि अर्को वर्ष निरन्तर हुने गरी सम्झौता गरिने उनको भनाइ छ । उनले भने, “यो वर्ष ठेक्का सम्झौता भइसकेर अर्को वर्ष बनिसक्नेछ ।”

सरकारले दुई वर्ष पहिलेदेखि उपत्यकाका विभिन्न सडकमा र जेब्राक्रसिङमा ट्राफिक बत्ती जडान गर्दै आएको छ । बढी सवारी चाप भएका ठाउँमा बत्तीका कारण सवारीसाधन व्यवस्थापन गर्न सजिलो भएको देख्न सकिन्छ । विभागले चालू आवभित्रै जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गर्दैछ ।

उपत्यकाका बढी सवारी चाप र यात्रुले सडक पार गर्ने स्थान छनोट गरी बत्ती जडान भइरहेको विभागले जनाएको छ । पाँच चोक र त्यहाँका आठ जेब्राक्रसिङमा बत्ती जडान गरिने सवारी व्यवस्थापन तथा ट्राफिक शाखाका प्रमुख ओझाले जानकारी दिए । ती बत्ती जडानका लागि एक करोड १५ लाखमा ठेक्का सम्झौता भएको छ । विभागले अहिले बत्ती जडान गरिरहेका स्थानमध्ये थापाथली र जडीबुटीमा पहिले पनि बत्ती रहेका थिए । पहिले थापाथलीमा एउटा निजी संस्थाले परीक्षणका लागि आफ्नो खर्चमा बत्ती जडान गरेको थियो । सो प्रविधि सफल नभएपछि संस्थाले बत्ती निकालेर लगेको उनले जानकारी दिए ।

तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले जडीबुटीमा बत्ती जडान गरेको थियो । बत्तीले काम नगरेको र पुरानो प्रविधि भएकाले त्यसका ठाउँमा नयाँ प्रविधिको बत्ती जडान गर्न लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?