वैदेशिक रोजगार बचतपत्र : आकर्षण बढाउन के गर्दैछ राष्ट्र बैंक?

लोकपथ
0
Shares

कमला अर्याल /काठमाडौं ।  वैदेशिक रोजगार बचतपत्रमा आर्कषण नबढेपछि नेपाल राष्ट्र बैंकले थप प्रचारप्रसारमा जोड दिने भएको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/०६७ देखि वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै आएको छ । सो बेलादेखि बिक्रीमा राखिएको वैदेशिक बचतपत्र निकै कम मात्रै बिक्री हुने गरेको थियो ।

बैंकमा राख्ने निक्षेपको तुलनामा यस बचत पत्रमा आकर्षक ब्याजदर दिँदा पनि आकर्षण बढ्न नसकेपछि राष्ट्र बैंकले प्रचारप्रसारलाई नै आकर्षण बढाउने माध्यमको रुपमा लिएको छ । विगतका वर्षहरुमा भन्दा फरक ढंगले कसरी अगाडि बढ्ने भन्ने विषयमा टुंगो नलागेपनि प्रचारप्रसारको विकल्प नभएको राष्ट्र बैंकको भनाई छ । ‘प्रचारप्रसार गर्नुको विकल्पै छैन ।’ राष्ट्र बैंकका डेपूटी गभर्नर चिन्तामणी शिवाकोटीले भने ।

निष्काशनको आधा पनि बिक्री नहुने यस बचतपत्रको बिक्रीका लागि राष्ट्र बैंकले थप प्रयास गर्ने डेपूटी गभर्नर शिवाकोटीको भनाई छ ।

राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्रको बारेमा वैदेशिक रोजगारीमा जानेलाई बुझाउन पर्याप्त कसरत गर्न सकेको छैन । त्यसकारण यस रोजगार बचतपत्रमा आकर्षण बढ्न सकेको छैन । राष्ट्र बैंकले बचतपत्रको प्रचार प्रसारका लागि डेपूटी गभर्नर शिवाकोटीको नेतृत्वमा एक टोली बनाई तीन/चार वर्षअघि खाडी मुलुक पठाएको थियो ।

डेपूटी गभर्नर शिवाकोटीको टोलीले खाडी मुलुकमा प्रचारप्रसार पनि ग-यो । तर प्रचारप्रसार गर्दा समेत बचतपत्रप्रति भने वैदेशिक रोजगारीमा जानेको आकर्षण बढे्न सकेन ।

तत्कालिन अवस्थामा राम्रो प्रचारप्रसार गर्न नसकेको तथा वैदेशिक रोजगारीमा जानेहरुले बचतपत्रबारे राम्रोसँग नबुझेका कारण बिक्री हुन नसकेको राष्ट्र बैंकको भनाइ छ ।

किन बढेन आकर्षण ?

डेपूटी गभर्नर शिवाकोटीका अनुसार वैदेशिक रोजगार बचतपत्रमा आकर्षण बढाउन निकै गाह्रो छ । उनका अनुसार अधिकांश नेपाली कामदारहरु रोजगारीका लागि खाँडी मुलुकमा गएका हुन्छन् । उनीहरु चर्को ब्याजमा ऋण काडेरै विदेश गएका हुन्छन् । त्यसैले सबैभन्दा पहिले उनीहरुको प्राथमिकता भनेको ऋण तिर्ने र बाँकी कमाइबाट आफ्नो परिवारको लालनपालन, शिक्षादिक्षा, औषधोपचार लगायतमा खर्च हुने गर्छ । ती कामदारहरुले कमाएको रकमको सानो हिस्सा पनि बचत गर्न सक्दैनन् । त्यसैले पनि वैदेशिक रोजगार बचत पत्रमा आकर्षण बढ्न सकेको छैन । त्यस्तै, वैदेशिक रोजगार बचतपत्रका विषयमा अधिकांश कामदारलाई जानकारी छैन ।

राष्ट्र बैंकले यस्तो बचतपत्रको बिक्रीका लागि बैंकहरुलाई अनुमति दिएको छ । तर ती बैंकले मख्य शहरहरुमा मात्रै शाखा खोल्ने भएकाले बैंकको पहुँच कुनाकुनामा हुन सक्दैन । त्यसैले पनि वैदेशिक रोजगार बचतपत्रको बिक्रीमा समस्या आउने गरेको डेपूटी गभर्नर शिवकोटीको भनाई छ ।

राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन वैदेशिक रोजगारी बचतपत्र निष्कासन गर्दै आएको छ । वैदेशिक रोजगार बचतपत्र रोजगारीमा जाने नेपालीले कमाएको विप्रेषण (रेमिट्यान्स) उत्पादनमुलक क्षेत्रमा लगानी गर्न राष्ट्र बैंकले ल्याउने बचत सम्बन्धी योजना हो । यस्तो बचतपत्र सरकारले आन्तरिक ऋण उठाउने वित्तीय औजार हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०६६/०६७ देखि शुरु गरेको वैदेशिक रोजगार बचतपत्र निष्काशन गर्दै आएको छ । राष्ट्र बैंकले बाह्रै महिना यस्तो बचतपत्र निष्काशन गर्दै आएको छ । राष्ट्र बैंकले यहि माघ ९ गते ५० करोड रुपैँया बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको छ ।

त्यस्तै,राष्ट बैंकले गत वैशाख २७ गते पनि ४० करोड रुपैँया बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको थियो ।

निष्कासन सरकारले ल्याउन लागेको यो बचतपत्रको ब्याजदर १० प्रतिशतसम्म प्राप्त गर्न सकिन्छ । त्यस्तै, ब्याज प्रत्येक ६/६ महिनामा ब्याज प्राप्त गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

के हो वैदेशिक रोजगार बचतपत्र ?

मुलुकबाहिर रोजगारीमा संलग्न नेपाली नागरिक तथा विदेशमा बसोबास गर्ने गैर आवासीय नेपालीले आर्जन गरेको विदेशी मुद्रालाई वैधानिक माध्यमबाट स्वदेशमा भित्र्याउने तथा उनीहरूले आर्जन गरेको रकम विदेशमै बसी वा स्वदेशमा आई सरकारी बचतपत्रमा लगानी गर्ने उपयुक्त अवसर प्राप्त होस् भन्ने उदेश्यले सरकारले निश्चित ब्याजदर सामान्यतः अन्य बचतपत्रको भन्दा केही बढी तोकी नेपाली रूपैयाँमा जारी गरिएको मध्यमकालीन अवधिको बचतपत्र नै ‘वैदेशिक रोजगार बचतपत्र’हो । यो बचतपत्रको अवधि ५ वर्षको छ । यो बचतपत्र सरकारको आन्तरिक ऋण उठाउने एउटा औजार हो । यस्तो बचतपत्र नेपाली रूपैंयाँमा जारी हुने मध्यमकालीन अवधिको बचतपत्र हो ।

उद्देश्य

यो बचतपत्र निष्कासनको प्रमुख उद्देश्य मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक वा गैर–आवासीय नेपालीले विदेशमा आर्जन गरेको रकम लगानी गर्न प्रोत्साहित गर्ने, वैधानिक माध्यमबाट विदेशी मुद्रा भित्र्याउने र देश विकासको निमित्त वित्तीय साधन जुटाउने रहेको राष्ट्र बैंकले जनाएको छ ।

एक दशक भन्दा बढी समयसम्म निष्काशनको ४.९६ प्रतिशत मात्रै बिक्री

वैदेशिक रोजगार बचतपत्रको विगत दश वर्षको बिक्रीको अवस्था दयनिय देखिएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष ०६७ देखि यो बचतपत्र निष्काशन सुरु गरेको थियो । राष्ट्र बैंकले हालसम्म १२ अर्ब ५८ करोड भन्दा बढीको यस्तो बचतपत्र निष्काशन गरिसकेको छ । तर बिक्री भने ६२ करोड रुपैँया मात्रै भएको छ ।

कसले पाउँछ किन्न ? 

यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न नेपाली नागरिक र विदेशमा बसोबास गर्ने गैर–आवासीय नेपालीले आपूm वा आफ्नो एकाघर परिवारका सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी) को नाममा खरिद गर्न सकिन्छ । साथै, मुलुक बाहिरको रोजगारीमा संलग्न भई फर्केकाले पनि फर्केको चार महिनाभित्र यो बचतपत्र खरिद गर्न सक्ने व्यवस्था छ । खरिद गर्न सकिने रकम घटीमा ५ हजार रूपैयाँ र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५ हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिन्छ ।

कहाँ पाइन्छ किन्न ? 

थमिक निष्कासनको समयमा बिक्री एजेण्टमार्फत यो बचतपत्र बिक्री गरिन्छ । यो बचतपत्र खरिद आवेदन फारम प्राथमिक निष्कासनको समयमा राष्ट्र बैंकको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । बिक्री एजेण्टमार्फत पनि फारम उपलब्ध हुन्छ । आवेदन फारम पेश गर्ने स्थान यो बचतपत्र खरिद आवेदन फारम बिक्री एजेण्टका विदेश वा स्वदेशस्थित कार्यालयमा पेश गर्नु पर्दछ । यस्तो बचतपत्र किन्दा आवेदनसाथ आवेदनकर्ताको राहदानीको प्रतिलिपि, कार्यरत मुलुकको भिसाको प्रतिलिपि ९भारतबाहेक अन्य मुलुकमा कार्यरत श्रमिकका लागि मात्र०,कार्यरत कम्पनीको म्याद ननाघेको आधिकारिक परिचयपत्रको प्रतिलिपि, पासपोर्ट साईजको दुई प्रति फोटो, नेपालमा खरिद गर्नु पर्ने अवस्थामा वैदेशिक रोजगार बचतपत्र खरिदको लागि प्रयोग भएको नेपाली मुद्रा बराबरको विदेशी मुद्रा वैधानिक माध्यमबाट नेपाल भित्रिएको हो भन्ने प्रमाणको रूपमा विदेशी मुद्रा सटही रसिद लगायतका कागजात पेश गर्नुपर्छ ।

यस्तो छ निष्कासन प्रक्रिया

यो बचतपत्र तोकिएको अवधिभित्र ओभर द काउन्टर (ओटिसी) प्रक्रियाबाट निष्कासन गरिन्छ । वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला, बिक्री बन्द र निष्कासन खुला बजार सञ्चालन समितिले तोकिदिएको मितिमा गर्ने गरिन्छ । सो सम्बन्धी जानकारी पत्रपत्रिका तथा वेबसाइटमा प्रकाशित गरिन्छ । अवधि र कुपन (ब्याज) दर वैदेशिक रोजगार बचतपत्रको अवधि र यसमा पाउने निश्चित ब्याज दर सरकारले तोकिदिए बमोजिम हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?