जनयुद्ध र जनआन्दोलनबाट पीडितलाई सरकारले सम्मान गर्ने

काठमाडौँ– सरकारले जनआन्दोलन र जनयुद्धका क्रममा पीडित परिवारलाई परिचयपत्र वितरण र सम्मान गर्न कार्यदल बनाएको छ।

आइतवार साँझ बसेको मन्त्रीपरिषद बैठकले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष,  विद्रोह र  विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते, बेपत्ता, अंगभंग भएका, लोकतन्त्रका योद्दाको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न कार्यदल गठन गरेको हो।

आन्दोलनमा सहभागीहरुलाई सम्मानका लागि आवश्यक प्रतिवेदन बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिमा खानेपानी तथा सरसफाइमन्त्री मणि थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन् ।

यसअघि शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी लडाकुहरुसहित केही नेता कार्यकर्ता भेटेर उनीहरुका लागि उचित व्यवस्थापन गर्ने बताएका थिए । बैठकमा पूर्व लडाकुहरु र जनयुद्धका घाइतेहरुले आफूहरुलाई सम्मान हुनेगरी राष्ट्रिय परिचयपत्रको व्यवस्थापन गर्न आग्रह गरेका थिए ।

यसअघि मन्त्रिपरिषद्ले नै जनयुद्धका घाइतेहरुलाई नि:शुल्क उपचार गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?