२०७७, ११ माघ आईतवार १७:४३

‘संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेकपाका कारण समस्या समाधान हुँदैन’


प्रकाशित मिति : २०७७, ११ माघ आईतवार १७:४३

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कारण समस्या समाधान नहुने बताएका छन् ।

आज आइतवार जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच पार्टी एकिकरण घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले संसद पुनर्स्थापना भएपनि सत्तारुढ नेकपाका कारण समस्या समाधान नहुने बताएका हुन् । संसद पुर्नस्थापना भएपनि सत्तारुढ नेकपा कानूनी रुपमा विभाजित नभएको अवस्था भएकोले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताए । संघीयता, गणतन्त्र, समावेशिता जस्ता मुद्दाहरुलाई समाप्त पारी मुलुकलाई पछाडी धकेल्ने प्रयास भएको भन्दै यी परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता रहेको औँल्याए । संसद विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु रहेको उनको भनाई छ ।

बरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक पटक बदलिएपनि बिचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राखे । कम्युनिष्ट र कांग्रेसले देशलाई गोलचक्करमा फसाएको उनले बताए ।

जनता समाजवादी पार्टी, नेपाल र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह) बीच आइतवार ललितपुरमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा भएको छ ।

प्रतिक्रिया दिनुहोस