सुदूरपश्चिममै पहिलोपटक कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन शुरु

टेक सिँह धामी/ कैलाली । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक महिला महिनावारी हुँदा प्रयोग गरिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको छ । महिनावारीका बेला प्रयोग गरिने सेनेटरी प्याडमा प्लाष्टिक मिसावट हुने र प्रयोग गरिसकेको प्याड नकुहिने तथा जलाउँदा प्रदूषण हुने भएकाले सुदूरपश्चिमको धनगढीबाट पहिलोपटक सहजै कुहिने कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको हो ।

मानवअधिकारका लागि महिला, एकल महिला समूह डब्लू. एच. आर. धनगढीले कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन सुरु गरेको हो । जीआइजेडको आर्थिक सहयोग र धनगढी उपमहानगरपालिकाको समन्वयमा पहिलोपटक कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन थालिएको डब्लूएचआरका प्रादेशिक अधिकृत बेद अवस्थीले बताइन् । अन्य सेनेटरी प्याड नकुहिने र जताततै फ्याँक्दा प्रदूषण हुने गरेको बताउँदै उनले भनिन् ,‘हामीले उत्पादन गरेको सेनेटर प्याड प्रयोग गरेको ६० दिनभित्रै कुहिन्छ, जसले गर्दा वातावरण प्रदूषण हुँदैन ।’

किशोरीहरुको स्वास्थ्य प्रजननलाई ध्यानमा राखेर पहिलो पटक धनगढीबाट गुणस्तरीय कम्पोष्टेबल सेनेटरी प्याड उत्पादन थालिएको उनले बताइन् । यो प्याडमा प्रयोग गरिएको सामग्रीमा प्लाष्टिक रहित हुनुका साथै किशोरीको प्रजनन स्वास्थ्यलाई ख्यालमा राखेर निर्माण गरिएको उनले बताइन् । उनले भनिन् ,‘अन्य प्याडको तुलनामा यसमा रसायनरहीत हुनुका साथै प्रयोग गर्दा सहजता हुने खालले निर्माण गरिएको हो ।’ अन्य सेनेटरी प्याड प्रयोग गर्दा किशोरीहरुलाई स्वास्थ्य समस्या देखिएको बताउँदै उनले भनिन्,‘प्लाष्टिकयुक्त सेनेटर प्याड प्रयोग गर्दा सेतो पानी बग्ने, पाठेघरमा इन्फेक्सन हुने लगायतका समस्या झेल्नु पर्ने भएकाले त्यसबाट मुक्ति दिलाउन हामीले कम्पोष्टेवल सेनेटरी प्याड उत्पादन गरेका हौँ, जुन केमिकलरहीत छ ।’

८ वटा पिसको ५० देखि ६० रुपैयाँसम्ममा बजारमा ल्याइने तयारीका साथ थालिएको उद्योगलाई व्यवस्थित गरेर सञ्चालन गरिने उनले बताइन् । ‘हामीले उत्पादन गरेका सेनेटरी प्याडलाई गुणस्तर प्रमाण चिन्ह प्राप्त गर्न प्रक्रिया थालेका छौँ,’ उनले भनिन्,‘गुणस्तर चिन्ह प्राप्त हुने वित्तिकै बजारमा ल्याउने छौँ ।’ एकल महिलाको आयआर्जनमा वृद्धि गर्नुका साथै एकल महिलालाई हौसला दिन जिआइजेडले यो कार्यक्रम ल्याएको अवस्थीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?