“सांसद भनेको स्थायी जागीर होइन”- प्रधानमन्त्री (भिडियो)

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताएका छन् ।

आइतवार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघसंगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले संसद विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देशविरोधी भएको बताएका हुन् ।

उनले असंवैधानिक भन्नेहरु संविधान तथा लोकतन्त्रको विरोधी भएको पनि बताए । संसद पुनरस्थापना गर्न चाहनेहरु देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप समेत प्रधानमन्त्री ओलीको छ ।

संसद पाँचै वर्ष हुनका लागि सांसदहरुको जागिर नभएकाले सांसदको काम हेरेर जनतालाई पुरस्कृत तथा दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्ने उनको भनाइ छ । आफुले शासक बन्नेगरी हातमा केही नराखेको भन्दै प्रधानमन्त्री ओलीले जनतालाई निर्णय गर्न दिने कुरा तानाशाह नभएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको बताए । शारिरिक रुपले अशक्त, असक्षमहरुका लागि सरकार चाहिने भन्दै अशक्तहरुको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रतिबद्धता गरे  । उनले अहिले बालबालिकाहरु सडकमा आउनुपर्ने अवस्था नरहेको पनि बताए । सडकमा आउने बालबालिकाहरुलाई अभिभावकको भुमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य तथा सुनिश्चित भविष्यको प्रत्याभुति सरकारले गराउने पनि उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले शारिरिक अशक्तताका कारण उत्पन्न हुने समस्या निराकरण गर्न सकिने भन्दै हरेश नखान आग्रह गरे । देश विकासमा शारिरिक रुपमा अपाङ्गता भएकाहरुले पनि योगदान दिनसक्ने उनको भनाइ छ । देश गरीब भएपनि आफ्नो नागरिकलाई सक्दो हेरचाह गर्न कुनै कमि नराख्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?