देवर भाउजू मृत्यु प्रकरण : भाउजूले खानलाई दिएकी थिईन् पत्ता

काठमाडौं । महेन्द्रनगरको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा बसेका एक महिला र एक पुरुषको मृत्यु प्रकरणमा प्रहरीले केहि क्लूका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ । नातामा देवर भाउजू पर्ने मृतक महिला र पुरुषको मृत्युका सम्बन्धमा भेटिएका प्रमाण, क्लू, घटनास्थल, उनीहरुले बस्न लिएको होटल, परिवार लगायतलाई लिएर अनुसन्धान भइरहेको हो ।

घटना के हो ?
दुई दिनअघि बैतडी घरबाट भागेर निस्केका २५ वर्षीय शेरीराम कोली (देवर) र २० वर्षीया भाउजू हिजो (शनिवार) बिहान महेन्द्रनगर आइपुगेका थिए ।

महेन्द्रनगरको बसपार्कस्थित पोखरा होटल एण्ड लजमा उनीहरु कोठा लिएर केहिबेर बसेका थिए । कोठामा केहि समय बसेपछि उनीहरु कोठाबाट कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पताल पुगे । होटलबाट निस्कदाँ नै उनीहरुको अवस्था सामान्य नरहेको बुझिएको छ ।

अस्पतालमा पुग्दा भाउजूको अवस्था सामान्य नभएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको थियो । तर अवस्था गम्भिर भएकी उनको उपचारका क्रममा हिजो शनिवार बेलुकी ५ः१५ बजे मृत्यु भयो ।

शेरीराम कोली को पनि हिजो शनिवार राति ११ः३० बजे अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । अस्पतालमा प्रहरी पुग्दा भाउजूको आइसीयूमा उपचार भएरहेको थियो भने कोलीको उपचार भइरहेको थियो ।

कसरी भयो दुवैको मृत्यु ?

अस्पतालमा प्रहरीले कोलीसँग सोधपुछ गर्दा “भाउजूले के को पत्ता दिँदै खान भन्नु भयो, आफूपनि खानुभयो र मलाई पनि खुवाउनु भयो ।” पातमा केहि मिसाएर खान दिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । “घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ । शवको पोष्टमार्टम पछि मृत्यु के कारण भएको थाहा हुन्छ”, उनले भने ।

डीएसपी थापाका अनुसार देवर–भाउजू कहाँ जान महेन्द्रनगर गएका हुन् भन्नेबारे समेत खुल्न सकेको छैन ।

घटनाबारे मृतकको परिवारलाई खबर भइसकेको र उनीहरु बैतडीबाट महेन्द्रनगर जाँदै गरेको पनि प्रहरीले जानकारी दिएको छ । घटनाको मिहिन ढंगले अनुसन्धान भइरहेको र परिवारसँगको अनुसन्धान पछि घटनाबारे केही क्लू पत्ता लाग्ने प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार दुबैको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?