अर्बपति विनोद चौधरीको एनसीसीमा ‘ईन्ट्री’ : नबिल सँगसँगै यात्रा गर्ने भित्री तयारी

काठमाडौं । नबिल बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकबीच भित्री रुपमा मर्जरमा जाने तयारी भएको छ ।

अर्बपति उद्योगी विनोद चौधरी एनसीसी बैंकमा प्रवेश गरेपछि यस्तो आँकलन गरिएको हो । केही समययता नबिल र एनसीसी बैंक मर्जरमा जाने विषयमा चर्चा भइरहेका बेला उद्योगपति चौधरी एनसीसीमा प्रवेश गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चौधरीले एनसीसीको करिब १० लाख कित्ता शेयर किनेर बैंकमा प्रवेश गरेका हुन् । उनले श्रीमती सारिका चौधरीको नाममा सो शेयर किनेका हुन् । नबिल बैंकले एनसीसी बैंकसँग मर्जरमा जाने कुरा सत्य नरहेको स्पष्ट पार्दै आएको छ । तर चौधरी ठुलो शेयर हिस्साका साथ एनसीसीमा प्रवेश गर्नुलाई नबिल र एनसीसीको मर्जरसँग जोडेर हेरिएको छ । बाह्य रुपमा अस्वीकार गरेपनि भित्री रुपमा नबिल र एनसीसी एक आपसमा मर्जरमा जाने विषयमा तयारी भइरहेको स्रोतको भनाई छ । तर औपचारिक रुपमा भने छलफल भएको छ ।

चौधरीको नबिल बैंकका ५० प्रतिशत शेयर हिस्सा छ । सो शेयर एनबी इन्टरनेशनलको नाममा रहेको छ । जुन चौधरीको आफ्नै स्वामित्वमा छ । त्यस्तै, उनकी पत्नी सारिका र छोरा निर्माण चौधरी लगायतको नाममा ३ प्रतिशतको हाराहारीमा नबिलमा शेयर हिस्सा रहेको छ ।

चौधरीले बैंकको बुक क्लोज हुनुभन्दा एक साता अगाडि सो शेयर किनेका हुन् । बैंकले साधारणसभा र लाभांश वितरणका लागि गत पुस २१ गते बुक क्लोज गरेको थियो । एनसीसीले साधारणसभामार्फत मर्जरको एजेण्डालाई पनि प्राथमिकताका साथ उठाएको थियो । चौधरी एनसीसीमा प्रवेश गरेपछि एनसीसी बैंक तरंगित भएको बताइएको छ । साथै संचालक समितिमा पनि चौधरीलाई विशेष महत्वका साथ हेरिएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकको पूँजी २ अर्बबाट ८ अर्ब रुपैयाँ पुर्‍याएको थियो । सो पूँजी २०७४ असार मसान्तसम्म पर्‍याउनुपर्ने व्यवस्था थियो । तर अधिकांश बैंकले पूँजी पुर्‍याएपनि एनसीसीले लामो समयसम्म पर्‍याउन सकेको थिएन । त्यतिमात्रै होइन, एनसीसी लगायत केही बैंकले प्रतिस्पर्धी बजारमा राम्रो प्रफमेन्स समेत गर्न नसकेको र बजारमा टिकिराख्न समस्या हुने भन्दै राष्ट्र बैंकले फोर्स मर्जरमा समेत लाने गरी सुचीकृत गरेको थियो ।

त्यसलगत्तै एनसीसीले प्रभु बैंकसँग छलफल चलाएको थियो । प्रभु बैंकसँग मर्जरमा जाने विषयमा पटक पटक छलफल गरेको थियो । तर स्वाप रेसियोको विषयमा सहमति हुन सकिरहेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?