डा. केसी भन्छन्- ‘मेडिकल शिक्षाको शुल्क बढाउने सिफारिस कुनै हालतमा स्वीकार्य छैन’

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता एवम् वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले एमबीबीएस लगायतका कार्यक्रमहरुको शुल्क बढाउन सिफारिस गरेकोमा आपत्ति जनाएका छन् ।

शनिवार चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण समितिले चिकित्सा शिक्षा क्षेत्रको शुल्क बढाउन सरकारसमक्ष सिफारिस गरेको थियो ।

चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर–नाफामुलक हुनुपर्नेमा जोड दिएका छन् । त्यसैको तयारीस्वरुप शुल्क कम गर्दै लैजानुपर्ने डा केसीले बताएका छन् ।

नेपाल चिकित्सक संघको आजिवन सदस्य समेत रहेका डा. केसीले कोरोना महामारीका कारण अभिभावक र विद्यार्थी मारमा परेका बेला शुल्क बढाउने काम कुनैपनि हालतमा स्वीकार्य नभएको बताए ।

आइतवार एक विज्ञप्ति जारी गर्दै डा केसीले भने, “चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार आगामी आठ वर्षभित्र देशका सबै मेडिकल कलेज गैर–नाफामुलक हुनुपर्नेछ । त्यसैले यसै पनि शुल्क कम गर्दै लगिनु पर्ने हो । त्यसमाथि कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकहरुको आर्थिक स्थिति दयनीय भएको अवस्थामा शुल्क बढाउनु अकल्पनीय कुरा हो । त्यो हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन ।”

साथै तत्काल मेडिकल शिक्षा क्षेत्रको शुल्क बढाउनका लागि गरिएको सिफारिस गर्न माग गरेका छन् ।

“त्यसैले तत्काल शुल्क बढाउने सिफारिस खारेज गरेर गत वर्षसरह वा सोभन्दा कम कायम गर्न सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउँछौं । साथै हामीसित सम्झौता भए बमोजिम चिकित्सा शिक्षा ऐनमा संशोधनको काम अघि बढाउन पनि माग गर्दर्छौ।”  जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?