२०७७, ११ माघ आईतवार ११:४७

कनकाईमा विद्युत शव दाहगृह निर्माण गर्न पहल शुरु


प्रकाशित मिति : २०७७, ११ माघ आईतवार ११:४७

झापा । झापाको कनकाई घाटमा विद्युत शवदाह गृह निर्माण गर्न पहल शुरुवात भएको छ । अव्यवस्थित दाहसंस्कारबाट वातावरणमासमेत असर पुर्‍याएको जनाउँदै कनकाई नगरपालिकाले सो पहल शुरु गरेको नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।

कनकाईघाट सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गर्दै उनले नगरपालिकाका तर्फबाट पहिलो चरणमा १० लाख उपलब्ध गराउने बताए । पवित्र कनकाई नदीको पूर्वी किनारमा रहेको कनकाई घाटको छैटौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वातावरणको शुद्धतामा जोड दिन र विद्युत् शवदाह गृह निर्माणमा एक जुट हुन सम्बन्धित सबैमा आग्रह समेत गरे ।

“सानो रकम, सबैको सहभागिता व्यवस्थित घाट, हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा चितास्थल सञ्चालनमा आएको घाट समितिका अध्यक्ष प्रभाखर कडरियाले बताए । संस्थाका संस्थापक, आजीवन, संरक्षक र सहयोगी सदस्यबाट प्राप्त रकमबाट दुई शव दाहस्थल निर्माण भएको हो भने विर्तामोड निवासी तिलरुपा खड्काले जगत खड्काको स्मृत्तिमा तेस्रो चितास्थल निर्माण गरिदिएको बताइएको छ ।

त्यस्तै मारवाडी सेवा समिति विर्तामोडबाट चौथो र विर्तामोड निवासी द्वारिकालाल मित्तलका सुपुत्र प्रदीप मित्तल र परिवारबाट पाँचौ चितास्थल निर्माण भई सञ्चालनमा आएको संस्थाका अध्यक्ष कडरियाले जानकारी दिए ।

उनीले कोटीहोम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै हालसम्म निर्माण भएका संरचनाको संरक्षण साथै सरसफाइमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस