कालीगण्डकी करिडोरद्वारा म्याग्दीको दानामा सडक निर्माण

RSS
0
Shares

म्याग्दी । कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा विभिन्न विकास आयोजना निर्माण भएका छन् । यसअघि फगाम, सुवामा सडक निर्माण गरेको आयोजनाको सहयोगमा वडा कार्यालय भवन ढलान र ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको हो । आयोजनाको ठेकेदार कम्पनी टाटाले जलथले, फगाम, सुवा हुँदै दुवारीखोला जोड्ने सडक निर्माण गरेको थियो ।

प्रसारण लाइनको टावर निर्माणस्थलमा सामग्री ढुवानी गर्न निर्माण भएको यो सडकबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । दुवारी खण्डमा पहिरोले भत्काएको सडक मर्मत गरेमा जलथले–दुवारी खण्डको बेनी–जोमसोम सडकको विकल्प बन्ने वडाध्यक्ष नरसिंह पुर्जाले बताए । अहिले फगाम र सुवाका बासिन्दाले आवतजावतका साथै कृषि उपज निकासी र दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा यो सडक प्रयोग गरेका छन् । चार किलोमिटर दूरीको यो सडक निर्माण गर्न टाटाले करिब ५५ लाख खर्च गरेको जनाएको छ ।

यसैगरी आयोजनाको १२ लाख सहयोगमा दानास्थित वडा कार्यालय भवन ढलान गरिएको छ । यसअघि वडा कार्यालयको भवन जस्तापाताले छाइएको थियो । जस्पातापाता हटाएर ढलानसँगै भवनभित्रका कोठा मर्मतसमेत गरिएको वडाध्यक्ष पुर्जाले बताए । यसअघि भवन चुहिने समस्या थियो । भवन मर्मत र ढलान गरेपछि सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष पुर्जाले बताए । यसैगरी दानाको घट्टेखोलास्थित बेनी–जोमसोम सडकबाट ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको छ ।

सडक निर्माणका लागि आयोजनाले गाउँपालिकामार्फत उपलब्ध गराउने गरेर २० लाख विनियोजन गरेको थियो । नालीसहित छ मिटर फराकिलो ४०० मिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुरत केसीले बताए । सडकको दुईतर्फ पर्खाल निर्माण भएको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण भएको छ ।

अध्यक्ष केसीले सडक, नाली र पर्खाल निर्माणको काम सकेर गाउँपालिकामा भुक्तानीको प्रक्रिया अघि बढाएको बताए । नमूना विद्यालयमा छनोट भएको विद्यालयसम्म सहज पहुँच पुग्नुका साथै दानागाउँका बासिन्दालाई आवतजावत र ढुवानीमा सुविधा पुगेको उनले बताए ।

यसअघि साँघुरो सडकमा सवारी साधन र मानिस आवतजावत गर्न समस्या भएको थियो । जलविद्युत्, प्रसारण लाइनलगायत विकास आयोजनाले कूल लागतको ०।७५ प्रतिशत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार सामाजिक गतिविधिमा खर्च गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रसारण लाइन प्रभावित क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर आवश्यकताका आधारमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?