प्रचण्ड – नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै, ओलीलाई कारबाहीको तयारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड -नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने तयारी गरेको छ ।

ओलीलाई सोधिएको प्रष्टिकरणको जवाफ नआएपछि आज (आइतवार) बस्ने स्थायी कमिटी बैठकबाट उनलाई कारबाही गर्ने तयारी भएको प्रचण्ड – नेपाल समूहका एक नेताले जानकारी दिए ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र संसद विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न आज दिउँसो साढे १२ बजे दाहाल – नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमविरुद्ध अन्य दलहरुसँग संयुक्त आन्दोलन गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।

शनिवार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीच केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको ९ गतेको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको थियो । संसद विघटनविरुद्ध शुक्रवार काठमाडौंमा शक्ति प्रदर्शन गरेको यो समूहले थप आन्दोलनका कार्यक्रमबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

गएको पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध  प्रचण्ड – नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?