कामदारले डेढ वर्ष देखिको ज्याला पाएनन्

RSS
0
Shares

सिमकोट । पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । विसं २०७६ भदौ २७ गतेबाट नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन् । हुम्लाको सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्काखोलाको पुल निर्माणका लागि जिल्ला बाहिरबाट आएका कामदारले डेढ वर्षदेखि काम गर्दा पनि ज्याला नपाएको गुनासो गरेका छन् ।

हिल्सा–सिमकोट सडक खण्डअन्तर्गतको हेप्काखोला पुल निर्माण गर्ने कार्य तीव्र रूपमा सञ्चालन भइरहेको भए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म काम गरेको करिब १९ लाख रकम नपाएको कामदारका टोली नेता खुशीराम थारूले गुनासो गरे ।

हेप्काखोलाको पुल निर्माण गर्ने क्रममा कामदारलाई पहिलो पटक पेस्कीस्वरुप रकम दिने भनिए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म पनि सो रकम नपाएपछि कामदारले यो ठाउँमा रहेका होटल तथा पसलेसँग ऋण सापट गरेर जीविकोपार्जन गर्दै आएको उनले बताए ।

पुलमा काम गर्ने १२ कामदार कैलाली जिल्लाका नागरिक रहेका छन् । कामदारमध्येका नेता थारूले भने, “पटक–पटक ठेकेदार र हिल्सा–सिमकोट सडक योजना कार्यालयलाई हारगुहार गर्दासमेत कुनै सुनुवाइ भएन, हामी जिल्ला बाहिरका नागरिक भएका कारण हेपाहा प्रवृत्ति भएको छ ।” उक्त निर्माणाधीन पुल २५ मिटर लम्बाइ, १४।३३ मिटर उचाइ र आठ मिटर चौडाइ रहेको छ ।

हुम्ला जिल्लामा आफ्नो भन्नु कोही पनि नभएकाले हालसम्म पनि कुनै ठाउँमा उजुरी गर्न नसकिएको उनले दुखेसो पोखे । ठेकेदारले कामदारलाई काम मात्रै गराउने तर ज्याला मजदुरीको आर्थिक रकम नदिने गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?