अनुदानमा भारतले दिएको खोप आज सबै प्रदेशमा पठाइँदै

काठमाडौं । भारतले अनुदानमा दिएको कोभिड– १९ विरुद्धको कोभिसिल्ड खोप सरकारले आजदेखि क्षेत्रीय मेडिकल स्टोरमा पठाउने भएको छ। त्यहाँबाट जिल्ला जिल्लाका खोप केन्द्रमा खोप पुर्याइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने जनशक्ति, स्वास्थ्य स्वयंसेविकालगायतलाई खोप दिइने जनाइएको छ । माघ १४ गतेबाट ७७ वटै जिल्लामा एकसाथ खोप अभियान शुरु गरिने मन्त्रालयले जनाएको छ। खोप लगाउन कसैलाई बाध्य पारिने छैन। कोभिड संक्रमित भई निको भएका र नभएका सबैले स्वेच्छाले खोप लगाउन सक्ने मन्त्रालयले जनाएको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोपको १० लाख डोज गत बिहीवार भारतले नेपाललाई हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?