सशस्त्रको अस्पतालमा सडक मानवलाई निःशुल्क उपचार गरिने घोषणा

RSS
0
Shares

काठमाडौं । अघिल्लो वर्ष काठमाडौँको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई निको बनाउन झण्डै रु डेढ लाख खर्च भयो । खर्चाभावमा उनको उपचारमा निकै धौधौ भयोे । हेपाटाइटिस र क्षयरोगी तथा मनोरोगी उनको अझै पनि नियमित स्वास्थ्य परीक्षण चलिरहेकै छ ।

केही अघि चरम यातना पाएर सडकमा भेटिएकी एक महिलाको ठूलो खर्च गरेर उपचार गरिए पनि मानवसेवा आश्रमले बचाउन सकेन । अझ कोभिड–¬१९ सङ्क्रमणको समयमा दाता न्यून हुँदा आश्रित बेसहाराको औषधोपचारमा परेको समस्या त्यहाँका अभियानकर्मीमा तीतो यथार्थ बनेर गढेको छ ।

सहयोगी हातको कमी भइरहेको वर्तमान सन्दर्भमा औषधोपचारमा समस्या कायमै रहँदा सशस्त्र प्रहरी बल नेपालबाट आएको एउटा सन्देशले आश्रम परिवारमा खुसीको बहार छाएको छ । आश्रित बेसहाराको सशस्त्र प्रहरीले निःशुल्क उपचार गर्ने घोषणा गरेपछि आश्रमका प्रवक्ता सुमन बर्तौला उक्त निर्णयलाई सडक मानवमुक्त मुलुक बनाउने अभियानको महत्वपूर्ण कडीका रुपमा लिएको स्मरण गर्छन्।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २०औँ सशस्त्र प्रहरी दिवसका अवसरमा शुक्रवार बेसहारालाई निशुल्क उपचारको घोषणा गरेका छन् । “अबदेखि मानवसेवा आश्रममार्फत् खाना, छाना र नाना प्राप्त गरिरहेका सबैलाई सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपिएफ अस्पताल बलम्बुमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निःशूल्क प्रदान गरिनेछ”, प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उनले भने ।

यसअघि नै नेपाल सरकारले ‘कोही नेपाली असहाय हुन नपरोस, उपचारबाट वञ्चिन हुन नपरोस’ भनेर आवश्यक काम गर्दै आएको छ । मानवसेवा आश्रमसँग सहकार्य गर्दै वि. सं २०७८ भित्रमा बेसहारा सडक मानवमुक्त देश बनाउने सरकारको योजना रहेको सन्दर्भ कोट्याउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले जनताको सेवा, सुरक्षा, सहयोग र उद्वार गर्ने कार्यअन्तरगत उक्त घोषणा गरिएको स्पष्ट पारे । दिवसकै अवसरमा सशस्त्र प्रहरी परिवार महिला सङ्घका तर्फबाट उनले आश्रित व्यक्तिलाई ब्ल्याङ्केट, चामल, तेल, गेडागुडीसमेत उपलब्ध गराएका छन् । सशस्त्र प्रहरी अस्पतालमा सबै सेवा प्राप्त नभए पनि उपलब्ध सेवा लिन पाउँदा ठुलो राहत हुने आश्रमको विश्वास छ ।

यहाँ आश्रित मानिस शरीरमा किरा परेको र घाउ गन्हाइरहेको अवस्थामा भेटिएका थिए । किड्नी, कलेजो, मुटुमा गम्भीर समस्या परेकाको पनि उद्धार गरिएको थियो । प्रायःमनोरोगी भएकाको शारीरिक र मानसिक अवस्थामा कमजोर छ । केही गाडीले हानेर असक्त भएका र घाउ बल्झिएर समस्या बढ्दै गएका समेत छन् । क्यान्सर रोगले थलिएका पनि बेलाबेलामा भेटिँदै आएका छन् । कतिपय दीर्घरोगी र आजीवन औषधि सेवन गर्नुपर्ने रहेकाले उनीहरुका लागि औषधोपचार महत्वपूर्ण अभिभारा हो भन्छन्, आश्रम अध्यक्ष रामजी अधिकारी । औषधिमा केही स्वास्थ्य संस्थाले सहयोग गर्ने गरे पनि पर्याप्त नहुँदा अधिकांश औषधि खरिद गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

अहिले यसरी सडकबाट उद्धार गरिएका झण्डै एक हजार ७०० लाई देशभरिका २२ सेवा केन्द्रमा राखिएको छ । उनीहरुलाई दैनिक कुनै न कुनै औषधि खुवाउनुपर्छ । उपचारमा झण्डै रु २० देखि २५ लाख मासिक खर्च हुने गरेको जनाइएको छ । आर्थिक अभावले उनीहरुको पूर्ण शरीर परीक्षण गराउन सकिएको छैन । आश्रमलाई सबैभन्दा समस्या औषधोपचार कै रहेको अभियानकर्मी शुशीला केसी सुनाउँछिन् ।

अन्तिम अवस्थामा पुगेकाको भने लाखौँ खर्च भइसक्दा पनि निको नहुने अवस्था देखिँदै आएको छ । काठमाडौँको आश्रममा मात्रै मासिक झण्डै रु दुई÷तीन लाख औषधोपचारमा लाग्ने गरेको जनाइएको छ । पैसाकै अभावमा पूर्ण शरीर परीक्षण गर्न नसकिएको जनाइएको छ ।

सडकमा भेटिएका बेसहारा, असहाय व्यक्ति जो मागेरसमेत खान नसक्नेलाई विशेष सङ्कल्प गरेरै वि. सं २०६९ सालदेखि आश्रमले उद्धार गरेर संरक्षण दिने र परिवारमा मिलाउने काम गर्दै आएको छ । शुरुवाती चरणमा भन्दा केही सकारात्मक देखिए पनि सडकमा आश्रित मानिसप्रति समाजको हेर्ने दृष्टिकोणमा अझै पनि आशातित परिवर्तन हुन नसकेको अभियानकर्मी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?