एउटी बालिकाको अनुरोधमा अब्राहम लिंकनले पालेका थिए दाह्री, यस्तो थियो रोचक किस्सा

काठमाडौं – प्रसंग हो, सन् १८६० को । जतिबेला लिंकन अमेरिकी राजनीतिक रंगमञ्चमा शीर्ष नेताका रुपमा स्थापित भइसकेका थिए । उनी अमेरिकी राष्ट्रपतिको निर्वाचनमा उम्मेद्वारका रुपमा उठेका थिए ।

निर्वाचनमय अमेरिकामा त्यसवेला उनको तस्वीर प्राय घरघरमै हुन्थ्यो । त्यही बेला वेष्टफिल्डमा एकजना बालिकाले आफ्नो घरमा अब्राहम लिंकनको एउटा तस्वीर देखिन् । बालिकाको नाम ग्रेस वेडर थियो । उनलाई लिंकन असाध्यै मनप-यो ।

तस्वीरमा लिंकन ख्याउटे देखिन्थे । उनको अनुहारमा दाह्री भइदिएको भए अझ आकर्षक र अनुभवी देखिने जस्तो लागेपछि ग्रेसले लिंकनलाई सोही कुरा उल्लेख गर्दै पत्र लेखिन् र पठाइन् ।

उनले लेखेको पत्र यस प्रकार थियोः

मिस्टर लिंकन

अभिवादन

म वेष्ट फिल्डकी एक बालिका हुँ । तपाईकी एक शुभच्छुक समेत हुँ । तपाई यसबेला अमेरिकाको राष्ट्रपतिमा निर्वाचन लड्दै हुनुहुन्छ । मेरा ४ जना दाजुहरुले तपाइलाई मत दिनुहुन्छ । म पनि तपाईको इमान्दार प्रशंसक/शुभेच्छुक हुँ । तपाइको तस्वीर मैले भर्खर देखेँ । तपाईको तस्वीरले मलाई निकै आकर्षित ग-यो । तर त्यो तस्वीरको अनुहार आकृतिमा मैले एउटा चीज देखिन, त्यो हो – दाह्री । तपाईको अनुहारमा दाह्री भइदिएको भए सम्पूर्ण अमेरिकीहरुले पाको अभिभावकको रुपमा तपाईलाई पाउने थिए । दाह्रीले तपाईको अनुहारलाई थप राम्रो बनाउँथ्यो । तपाईलाई सफलताको शुभकामना ।

तपाईको शुभेच्छुक

ग्रेस वेल्डर

वेष्टफिल्ड, अमेरिका

त्यसपछि लिंकनले पनि ती सानी बालिकालाई जवाफ दिँदै छोटो चिठी लेखे तर चिठीमा दाह्री पाल्ने–नपाल्ने कुरा खुलाएनन् ।

त्यसको केही समयपछि लिंकन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए । एकवर्षपछि फेब्रुअरीमा राष्ट्रपति लिंकन वेष्टफिल्डको भ्रमणमा गए । रेल स्टेशन वरिपरि सर्वसाधारणको घुँइचो थियो ।

त्यहाँ राष्ट्रपति लिंकनले आफ्नी सानी साथी ग्रेस वेल्डरको नाम लिए ।

ठूलो भीड छिचोल्दै राष्ट्रपति लिंकनका अगाडि पुगिन् ग्रेस ।

उनले लिंकनको अनुहारमा दाह्री देखिन् । लिंकनले आफूलाई दाह्री पाल्ने सल्लाह उनैले दिएको भन्दै यो दाह्री उनलाई डेडिकेट गरे ।

त्यसपछि लिंकनको अनुहारमा दाह्री कहिल्यै टुटेन । उनका अधिकांश तस्वीरहरुमा उनले दाह्री पालेकै छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?