बागमती प्रदेशको लगातार तेस्रो जित

लोकपथ
0
Shares

काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा शुक्रवार प्रदेश-२ लाई ६ विकेटले पराजित गर्दै बागमतीले लगातार तेस्रो जित हात पारेको हो ।

प्रदेश-२ ले दिएको १ सय ८० रनको लक्ष्य बागमतीले ४८ ओभर २ बलमा ४ विकेट गुमाएर पुरा गर्यो ।

बागमतीको जितमा पृथु बास्कोटाले अर्धशतकीय इनिङ्स खेले । उनले ७५ बलमा अविजित रहदै ५३ रन बनाए । पृथुको यो लगातार दोस्रो अर्धशतक हो ।

यस्तै बिभत्सु थापाले ४७ रन जोड्दा आकाश थापाले ३२ रन बनाए । इशान पाण्डे १५ रन बनाउदा आदील खान ५ रनमा आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा अविजित रहे । प्रदेश-२ का हरिशंकर शाहले २ विकेट लिए । विशाल सुसलिङ र कुमार थापाले १-१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४८ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ बनाएको थियो । प्रदेश-२ का लागि विवेक यादवले ६६ अर्धशतकीय इनिङ्स खेले ।

यस्तै कुमार थापाले २२ रन जोड्दा राहुल प्रताप सिंहले १८ रन बनाए । सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रनमा आउट भए ।

प्रदेश-२ लाई सस्तैमा समेट्न बागमतीका गौतम केसीले ४ विकेट लिए । उनले मात्र २९ रन खर्चिए । रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १-१ विकेट लिए ।

जितसँगै बागमतीले ३ खेलमा ६ अंक जोडेको छ । बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ ।

प्रदेश-२ को यो लगातार दोस्रो हार हो । प्रदेश-२ चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?