देगु तलेजु मन्दिरको जीर्णोद्धार र पुनर्निर्माण गरिने

RSS
0
Shares

ललितपुर । पाटन दरबार परिसरमा रहेको देगु तलेजु मन्दिर केही भाग जीर्णोद्धार त केही भाग पुनर्निर्माण गरिने भएको छ । वि. सं २०७२ वैशाख १२ को विनाशकारी गोरखा महाभूकम्प र पटकपटक आएको परकम्पनका कारण सो मन्दिर जीर्ण भएकाले प्राचीन सम्पदा नमासिने गरी पाँच वर्षपछि बल्ल बिग्रिएका भाग मात्र निर्माण गर्न लागिएको हो ।

मन्दिरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि तत्काल स्काफोल्डिङको काम अघि बढाइने छ । मन्दिर भूकम्पको धक्काले कस्तो अवस्थामा पुगेको छ भन्ने सम्पूर्ण जानकारी लिन फलामको पाइपको खट बाँधेर माथि चढ्नुपर्छ । मन्दिर माथि चढेपछि अध्ययन तथा अनुसन्धानका लागि तीन महिनाको समय दिइन्छ । सो समयपछि मन्दिर निर्माणको काम छिट्टै अघि बढाइने पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सरस्वती सिंहले बताइन् । उनले भनिन्, “मन्दिर भत्काउन शुरु गरेपछि त्यहाँका इँटा, कलात्मक काठलगायत पुरातात्विक महत्वका वस्तु मुचुल्का बनाएर सुरक्षित भण्डारण गर्नेछौं ।”

मन्दिर निर्माणका लागि जापान सरकारले १३ करोड रकम सहयोग गरेको सिंहले जानकारी गराए । मन्दिरको अवस्था सर्सरती हेर्दा छाना पानी चुहिएर बिग्रिसकेकाले सबै पुनर्निर्माण गर्नुपर्ने देखिन्छ । मन्दिरको गारो भने बिग्रिएको भाग मात्र मर्मत गरिने काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट ९केभिपिटी० का देशीय निर्देशक डा. रोहितकुमार रञ्जितकारले बताए । उनले भने, “मन्दिर सबै भत्काएर बनाउने चाहिँ होइन । मन्दिरमा धेरैजसो मक्किएका, कुहिएका र बिग्रिएका काठ फेर्नुपर्छ ।” मन्दिर मर्मतसम्भार र निर्माणको काम उपभोक्ता समितिमार्फत हुने रञ्जितकारले जानकारी गराए ।

तलेजु मन्दिर तीन तालाको छाना हुनुका साथै आठदेखि नौतले अग्लो छ । मन्दिरको गारो २५ प्रतिशत पुनर्निर्माण र बाँकी ७५ प्रतिशत जीर्णोद्घार गरिनुका साथै दलिन भने ५० प्रतिशत जीर्णोद्घार र ५० प्रतिशत पुनर्निर्माण गरिनुपर्ने रहेको बताइएको छ । जापानी भाषा प्यागोडा अर्थात् नेपाली भाषा छाने शैलीमा सो मन्दिर सन् १६८० मा राजा शिवसेनले बनाएका हुन् । देगु तलेजु मन्दिर ललितपुरकै अग्लो र ठूलो मन्दिर पनि हो । सो मन्दिर जस्तै पाटनको महत्वपूर्ण नरसिंह मन्दिर पनि उपभोक्ता समितिमार्फत छिट्टै निर्माण हुने भएको छ ।

यसैगरी पाटनको भीमसेन र बुङ्मतीको रातो मच्छिन्द्रनाथ मन्दिर भने उपभोक्ता समितिमार्फत धमाधम पुनर्निर्माण भइरहेको छ । त्यसैगरी पाटनको कृष्ण, हरिशङ्कर, चार नारायण, योगनरेन्द्र मल्लको शालिक, भीमसेन मन्दिर अगाडिको सिंह स्तम्भ आदि निर्माण सम्पन्न भइसकेका छन् । ६ वर्षअघि भूकम्पले भत्काएको पाटन दरबार परिसरका ९० प्रतिशत सम्पदा निर्माण सम्पन्न भइसकेको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?